अङ्कारा, टर्की, २५ मङ्सिर (रासस/एएफपी)
टर्कीले माग भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार भएको मङ्गलबार जनाएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताउनुभएको हो । हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ ।
गत महिना लिवियासँग सैन्य सुरक्षा सहमति गरेको टर्कीले आवश्यकताअनुसार लिवियालाई सघाउन चासो देखाएको हो । लिवियामा सन् २०१४ मा शुरू भएको गृहयुद्धका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने द्वन्द्वका कारण ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् ।