काठमाडौं, चैत २६
जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ ।भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/ गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।
भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा जाँडरक्सी बिक्री हुँदा हिंसा, अपराध जस्ता घटना हुनसक्ने भन्दै जाँडरक्सीको खुला बिक्रीमा रोक लगाइएको उहाँको भनाइ छ ।
खुला वा बोतलमा जाँडरक्सीको बिक्री वितरण, ओसारपसार तथा खाएकाे पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
