काठमाडौं, चैत २५
नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो।
लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउन र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य हो।
काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ । साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिबार बिहान ११ः३० बजे हुनेछ । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिनेछ ।
यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफ्ना प्रस्तुति राख्नेछन् ।
महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् ।
यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।