ललितपुर, चैत १५
गोदावरी नगरपालिका १० बोहराटारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुने भएको छ । राधा सर्वेश्वरधामसँग निर्माण हुने उक्त दिवा सेवा केन्द्रको शनिवार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । नगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकलाई दिउँसोको समय बिताउन सजिलो होस् भन्दै नगरपालिकाले प्रत्येक वडामा यो केन्द्र निर्माणको अवधारणा ल्याएको बताए ।
ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा केन्द्र निर्माण गरेको प्रष्ट पार्दै केन्द्रले ज्येष्ठ नागरिकको दैनिकी सजिलो बनाउने दाबी गरे । यी केन्द्रले ज्येष्ठ नागरिकलाई खुशी राख्न सहयोग गर्ने दाबी उनले गरे । केन्द्रमा ज्येष्ठ नागरिकले भजन कीर्तन गर्न सक्छन् । ज्येष्ठ नागरिकले केन्द्रमा आएर आफ्नो अनुभव आदानप्रदान गर्न सक्ने महर्जनले बताए ।
गोदावरी नगरपालिका प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणको अवधारणा अघि सारेको छ । जस अनुसार वडा नंं.१२, ११,१४ मा यो केन्द्र निर्माण भइसकेको छ । नगरपालिकाले उक्त केन्द्र निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।
वडा नंं.१० का वडा अध्यक्ष शेखर न्यौपानेले यो केन्द्र शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।