neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरमा पशुपन्छी क्षेत्रको गुरुयोजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन

ललितपुरमा पशुपन्छी क्षेत्रको गुरुयोजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन

Mar 27th, 2023

काठमाडौं, चैत १३

नेपालको पशुपन्छी क्षेत्रले बोकेको असीम सम्भावनालाई आशातीत नतिजाको रुपमा प्राप्त गर्न यसमा लगानी बढाउनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञहरुले महशुस गरेका छन् । समग्र कृषि क्षेत्रमा सार्वजनिक लगानी कुल बजेटको तीन प्रतिशत पनि पुग्न सकेको छैन। समग्र कृषि क्षेत्रमा हुने लगानी मध्ये पनि पशुपन्छी क्षेत्रमा विगत देखि नै अति न्यून स्रोत विनियोजन हुने प्रवृत्ति छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस समस्यालाई समाधान गर्ने राष्ट्रिय रणनैतिक दस्तावेजको रुपमा आगामी १५ वर्षको लागी पशुपन्छी क्षेत्रको गुरु योजना तथा पाँच वर्षे लगानी योजना तर्जुमा गर्ने उद्धेश्यले १२ गते देखि तीन दिन सम्म होटल हिमालय, ललितपुरमा गुरुयोजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।

यस कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, प्रदेश कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद, कृषि तथा बन विश्वविद्यालय लगायत नीजि क्षेत्रका पशुपन्छी उद्यमीको सहभागिता थियो। मन्त्रालय र अन्तरराष्ट्रिय पशुपन्छी अनुसन्धान प्रतिष्ठान (International Livestock Research Institute-ILRI) को सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा इली (ILRI)केन्या र नेपालका विज्ञ प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता गर्नुभएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले नेपालको विशिष्ट परिस्थित सुहाउँदो र लागु गर्न सकिने व्यावहारिक गुरुयोजना तयार गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो।

पशुपन्छी क्षेत्रलाई एकातिर प्रतिस्पर्धी र नाफामूलक व्यावसायको रुपमा रुपान्तरण गर्दै रोजगारीको आकर्षक क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउंदै अर्कोतिर साना र निर्वाहमूखी पशुपालक कृषकलाई बजारसंग जोड्ने रणनीति समेत यस गुरुयोजनाले लिनुपर्ने अवस्था भएको बताउनुभयो।

नेपालमा विभिन्न भौगोलिक क्षेत्रमा धेरै थरी पशुपन्छी पालन पद्धति रहेका छन्। ती सबै पद्धतिको वृहत विश्लेषण गरी सुधारका विषयहरु पहिचान गर्ने र त्यसको लागी लगानीको क्षेत्र र स्रोतको पहिचान गर्ने विधिहरु बारे छलफल गर्ने कार्यक्रम रहेको छ। यस गुरुयोजना तयारी गरी यसमा सरकारी लगानी, निजी क्षेत्रको सहभागिता र विकास साझेदारहरुको सहयोगका क्षेत्रहरुको स्रोत समेत प्रयोग गरी पशुपन्छी क्षेत्रमा तात्कालीन, मध्यकालीन र दीर्घकालीन नतिजा प्राप्त गर्न सकिने विश्वास गर्न सकिन्छ। तीन दिने अभिमुखीकरण पश्चात अर्को दिन विकास साझेदारहरुसँग क्षेत्रगत प्राथमिकता र स्रोत विनियोजन गर्ने सम्भावना बारे वृहत छलफल गर्ने समेत कार्यक्रम रहेको छ।