काठमाडौँ १० चैत
नेपालको जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको केन्द्रिय तथ्याकं विभागले जनाएको छ ।
सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।
जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४।.६ थियो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ ।
सार्वजनिक नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।