ललितपुर, चैत ७
पार्टी सुदृढीकरण तथा विस्तार अभियानको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत ललितपुर महानगरपालिका ५ मा मिसन ग्रासरुट अभियान भेला सम्पन्न भएको छ।
एमालेको पकड क्षेत्रको रुपमा रहेको उक्त वडाको मिसन ग्रासरुट भेला मंगलबार पार्टी केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यनजनकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा व्यनजनकार सहित प्रदेश सांसद रघुनाथ महर्जन, पूर्व प्रदेश सांसद ज्ञानेन्द्र शाक्य, जिल्ला सल्लाहकार परिषदका अध्यक्ष पुरुषोत्तम ढुंगाना, अभियान वडाका इन्चार्ज तथा पार्टी बागमती प्रदेश कमिटि सदस्य महेश कुमार चालिसे, ललितपुर महानागरकी उपप्रमुख मन्जली शाक्य,वडा नं ५ का वडाध्यक्ष तथा पार्टी वडा इन्चार्ज विकासमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा भर्खरै पार्टी जिल्ला सल्लाहकार परिषद अध्यक्षमा मनोनित भएका पुरुषोत्तम ढुंगानालाई विशेष बधाईसहित सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै अभियानका इन्चार्ज महेश कुमार चालिसेले वडामा हाल रहेका १४३ संगठित सदस्य संख्यालाई बढाएर कसरी ५ सयसम्म पुर्याउने भन्ने विषयमा सोच्नु र सोहीअनुसार पार्टी संगठन निर्माणमा लाग्नु नै मिसन ग्रासरुट अभियानको मूल मर्म रहेको जिकिर गरे।
अभियानमा पुराना सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, पार्टी संगठन निर्माण, सुदृढीकरण तथा व्यवस्थित जस्ता कार्य प्रमुख रहेको भन्दै उनले वडाभित्रका टोल कमिटि निर्माण गरी त्यसलाई सक्रिय बनाउन आग्रह गरे। साथै, वडाबाट स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको काम कारवाहीको मुल्यांकन गर्ने, जनताका वास्तविक समस्या पहिचान गर्दै समाधानको बाटो खोज्नु पनि पार्टीको कर्तव्य भएको चालिसेको भनाई छ।
पार्टी महानगर कमिटिका सचिव तथा पूर्व बागमती प्रदेश सांसद ज्ञानेन्द्र शाक्यले जनताको प्यारो एकमात्र एमाले पार्टी रहेको भन्दै इतिहासमा एमालेले गरेको राम्रा कामलाई मिसन ग्रासरुट अभियान मार्फत जनताको घरघरमा पुर्याउनुपर्ने बताए। यसैगरी एमाले ललितपुर महानगर कमिटि अध्यक्ष समेत रहेकी ललितपुर महानागरकी उपप्रमुख मन्जली शाक्यले पार्टी, संगठन निर्माण तथा विकास निर्माणको सवालमा ललितपुर महानगर ५ पार्टी कमिटिको भूमिका गर्व गर्न लायक रहेको र अन्य वडा तथा कमिटीहरुले पनि यसको अनुसरण गर्नुपर्ने उल्लेख गरिन। मिसन ग्रासरुट मार्फत नै जनताको बहुदलीय जनवाद र समाजवादको लक्ष्य सम्म पुग्नको लागि वडा पार्टी सक्षम रहेको उनको भनाई छ।
पार्टी जिल्ला सल्लाहकार परिषद संयोजक पुरुषोत्तम ढुंगानाले ठुलो त्याग तपस्या र संघर्षबाट ललितपुर महानगर ५ मा पार्टी आजको सफलताको अवस्था सम्म आईपुगेको बताए। आफूलाई पार्टीले दिएको जिम्मेवारी र सम्मानले आफ्नो जिम्मेवारी थप बढेको अनुभव भएको उनले सुनाए।
पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरिकृष्ण व्यनजनकारले समाजवाद उन्मुख पार्टीका कार्यक्रम मिसन ग्रासरुट मार्फत तल्लो तहसम्म लैजाने अभियानको मुख्य लक्ष्य रहेको बताए। पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्दै भविष्यमा देशको पहिलो पार्टी निर्माण गर्नका लागि प्रत्येक पार्टी वडा तथा टोल कमिटि बाट जुर्मुराउनु पर्ने भन्दै उनले त्यसको लागि ५ नं वडा कमिटि सक्षम रहेको उनको विश्वास छ। साथै उनले पार्टी बलियो बनाउन स्थानीय कमिटिहरुलाई मजबुत बनाउदै युवा पंक्तिलाई पार्टीमा अवसर र विशेष जिम्मेवारी दिनुपर्ने बताए।