काठमाडौं, फागुन २३
देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । धनुषा, सर्लाही र धादिङमा भएका सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियास्थित सडकमा मोटरसाइकल अनियन्त्रित हुन्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र.२-०२-००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको हो । दुर्घटना सवार शहिदनगर नगरपालिका-९ बस्ने ४५ वर्षीया कुमारी देवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, धनुषा लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित सडकमा ट्रयाक्टर र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज.१० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय राम एकवाल ठाकुर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया सतो साह सुडी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता, सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा पिकअप र टेम्पु एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बागमती प्रदेश-०१-०२५ च २००७ नम्बरको पिकअप र प्र.२-०२-००१ ह ०३३३ नम्बरको टेम्पु एक-आपसमा ठोक्किएर शनिबार दिउँसो टेम्पु चालक धनुषा मिथिला नगरपालिका-१० बस्ने ३४ वर्षीय दिपक स्याङतानको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटपस्थित सडकमा सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार हाल नम्बर नखुलेको र पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय प्राविधिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।