काठमाडौँ ४ मंसिर
आज मंसिर ४ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चयनका लागि देशै भर मतदान प्रक्रिया सुरु भएको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन् । मतदानका लागि निर्धारण गरिएको बाइस हजार दुई सय २७ मतदान केन्द्रमा एक साथ मतदान सुरु भएको हो ।
मतदानका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार चार सय १२ जना उम्मेदवार तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार दुई सय २४ जना तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ भएको थियो ।
मौन अवधिमा प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका थिए । मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो ।
मतदान स्थल वरपर राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिहरुको उपस्थिति देखिएको छ । मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन नपाइने व्यवस्था गरिएको छ ।
मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन पाइने छैन ।
कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न पाइने छ ।