neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र चुनाव लड्दै डा. सुदिन शाक्य, यस्ता छन् एजेण्डा

ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र चुनाव लड्दै डा. सुदिन शाक्य, यस्ता छन् एजेण्डा

Nov 10th, 2022

ललितपुर २४ कात्तिक

दन्त चिकित्सक डा. सुदिन शाक्यले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपले चुनाव लड्दै हुनुहुन्छ । लौरो चिन्हबाट उम्मेदवारी दिनुभएका उम्मेदवार डा. सुदिन शाक्य सानै उमेरदेखि समाजसेवीको रुपमा परिचित हुनुहुन्छ ।

वि.सं २०३३ सालमा ललितपुरको वडा नं ११ तलाँछे नामवहालमा जन्मिनुभएका डा. सुदिन शाक्य २०४८ सालको एस.एल.सी. पछि दन्त चिकित्सा क्षेत्रमा आउनुएको हो । फिलिपिन्सबाट पढेर नेपाल फर्किनुभएका शाक्य रोटरी क्लवमा समेत सक्रिय हुनुभएको थियो ।

डा. शाक्य नेशनलल डेन्टल अस्पतालको डाक्टर हुदै कार्यकारी निर्देशकसम्म बन्नुभयो । डा.सुदिनले जनयुद्धको समयमा पनि देशका विभिन्न स्थानमा अनेकन स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै प्रसिद्धि कमाउनुभएको थियो ।

करिब १५० वटा भन्दा बढि दन्त तथा स्वास्थ्य र जनचेतनामुलक शिबिरहरु सञ्चालन गरी एक लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने कार्य गर्नुभएका शाक्यले नेपाल मेडिकल काउन्सिलमा हुँदा अन्तराष्ट्रिय डेन्टल सम्मेलन गरी देश तथा विदेशमा समेत दन्त क्षेत्रमा विभिन्न योगदान पुर्‍याउनुभएको थियो।

दन्त चिकित्सा तथा समाज सेवाको क्षेत्रमा आफ्नो क्षमता देखाइसक्नुुभएका शाक्य समाजमा बृहत परिवर्तनको चाहनासहित राजनीतिमा होमिनुुभएको छ । ‘स्वस्थ नागरिक, सबल समाज’लाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाउनुुभएका शाक्यले प्रतिनिधीसभा सदस्यको लागि ललितपुर क्षेत्र नं. २ का बस्तीहरुमा घरदैलोमा व्यस्त हुनुुहुन्छ । ८० हजार बढी मतदाता रहेको ललितपुर २ मा प्रमुुख राजनीतिक दलका उमेदवार र स्वतन्त्र गरी २२ जना प्रतिद्धन्दीसंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यस्ता छन् डा. शाक्यका एजेण्डा

१. सामाजिक विकासको लागि सामाजिक समन्वयको अवधारणा अनुसार कार्य गरिनेछ । भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मलीकरण गर्ने तर्फ विशेष पहल गरिनेछ ।

२ खानेपानी, स्वस्थकर खाना, प्रदुषण, ढल निकास आदिको व्यवस्थापन र नीतिगत पैरवीको लागि पहल गरिनेछ ।

३. ललितपुर क्षेत्र नं २ मा ४ वटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना गरिनेछ । न्यूनतम शल्कमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी प्रबन्ध मिलाइनेछ । दीर्घ रोगीहरुको लागि समेत विशेष प्रकारको उपचार केन्द्र र परामर्श केन्द्रको स्थापना गरिनेछ ।

४. ललितपुर क्षेत्र नं २ सांसद स्वास्थ्य सेवा अक्षय कोषको स्थापना गरिनेछ । यस कोषको आम्दानीबाट पाटन अस्पतालमा गरीब, निमुखा, विपन्न र पैसा तिर्न नसकेर उपचारबाट बञ्चित बिरामीको लागि १ लाख नेपाली रुपैयासम्म सिफारिसको आधारमा उपचार सुविधा खर्च दिइनेछ ।

५.ललितपुर क्षेत्र नं २ सासद शिक्षा अक्षय कोषु को स्थापना गरिनेछ जसको आम्दानीबाट ललितपुर क्षेत्र नं २ मा सामुदायिक विद्यालयबाट एसईई पास गरेका विभिन्न कारणवश अध्ययनबाट वञ्चित विद्यार्थीहरुका लागि शिक्षा सहयोग सुविधा दिइनेछ ।

६. ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक एवम् मूर्त अमूर्त सम्पदाको संरक्षणको लागि विशेष पहल गरिनेछ ।

७. सडक, बाटोघाटो निर्माण तथा स्तरोन्नतिमा विशेष पहल गरिनेछ । हाल नै समस्याको रूपमा रहेको महालक्ष्मी न.पा वडा नं ८ स्थित महालक्ष्मी मन्दिर र भगवती मन्दिर बीचको साँघुरो बाटो विस्तारको कार्य स्थानीय भावनालाई सम्बोधन गर्ने गरी व्यवस्थापन गरिनेछ ।

८. भ्रष्टाचार न्यूनीकरणको पहल स्वरूप सरकारी निकायमा हुने कर, सिफारिस दस्तुर र सम्पत्तिको कारोबारमा व्यापक अनियमितता हुने भएकोले डिजिटल पेमेन्ट सिस्टमलाई अनिवार्य प्रयोगमा ल्याउन पहल गरिनेछ । कर तिर्नु पर्ने अवस्थालाई सरलीकरण तथा सहजीकरण गर्न पहल गरीनेछ ।

९. ललितपुरमा गठित करीब विभिन्न -हाल करिब २२ वटा जातीय समाजहरुसँगको सहकार्यमा पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने चाडपर्व , गुठी, नाच, बाजागाजा तथा अन्य कार्यक्रमको जगेर्नाको लागि महानगर र नगरपालिकासँगको समन्वयमा उचित व्यवस्था मिलाइनेछ ।

१०. पाटनमा रहेका करीब ५५ वटा ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र सुधारको व्यवस्था मिलाइनेछ ।

११. विभिन्न ऐतिहासिक सम्पदाको जिर्णोद्धारको लागि ुहाम्रो सम्पदा हामी बचाउँछौु नीति अवलम्बन गरिनेछ । ललितपुरका भित्री भागहरूमा ठूला घरहरुको खुल्ला भित्ताहरुमा वा लहरै एकै किसिमका घरहरुको बाहिरी भित्तामा सांस्कृतिक र परम्परागत महत्व झल्किने भित्ते चित्र बनाउन स्थानीयसँग मिलेर पहल गरिनेछ ।

१२. खाद्य सुरक्षालाई मध्यनजर गरी उपयुक्त स्थानको पहिचान गरी खेतीयोग्य जमिनको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइनेछ । यसका अतिरिक्त कृषि उत्पादनको बेचबिखन बजारलाई स्वच्छकर रुपमा विस्तार गरिनेछ र यस्ता बजारमा कृषि उत्पादन चिस्यान केन्द्र थप गर्ने कार्यक्रम ल्याइनेछ ।

१३. हरियाली पार्क, पोखरी, विहार जस्ता खुल्ला स्थानहरुलाई उद्धार केन्द्रको रुपमा विकास गरी विपद्को बखत प्रयोग गर्न मिल्ने गरी पूर्वाधारको विकास गरिनेछ ।

१४. ललितपुर जिल्लामा अहिलेसम्म पनि जिल्ला अस्पतालको रुपमा कुनै अस्पताल नतोकिएकोले ग्रामिण क्षेत्रको आवश्यकतालाई समेत ध्यान राखेर ललितपुर जिल्लामा जिल्ला अस्पताल निर्माणको लागि पहल गरिने तथा जिल्ला आयुर्वेद अस्पताल निर्माणका लागि समेत नेपाल सरकार र दातृ निकायसँग विशेष पहल गरिनेछ ।

१५. ललितपुरका निश्चित क्षेत्रलाई टेक्सटाइल भिलेजको रुपमा विकास गर्न र नेवारी खाजालाई ग्याष्ट्रोनोमी अध्ययन अनुसन्धान गरी अन्तराष्ट्रिय बजारीकरण गर्न विशेष पहल गरिनेछ ।

१६. ललितपुरमा सभा सम्मेलन गर्न अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्रको स्थापनाको लागि पहल गरिनेछ । यसका साथै बढि भन्दा बढि पर्यटक भित्रयाउनको लागि तारे होटलहरुको निर्माणको लागि लगानीकर्तालाई अभिप्रेरित गर्ने र होमस्टे तथा थप पर्यटकिय स्थल निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । यसको लागि भित्री बाटोघाटोको सुधार र नियमित सरसफाई जस्ता कार्यलाई प्राथमिकतामा राखिनेछ । जसका कारण रोजगारी वृद्धिमा समेत बल पुग्नेछ । यसका अतिरिक्त रोजगारी वृद्धिको लागि अन्य कार्यक्रमहरु अघि बढाईनेछ ।