neapl investment mega bank
  • गृहपृष्ठ
  • चिलीमा ३८ जना सवार सैनिक बिमान बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी

चिलीमा ३८ जना सवार सैनिक बिमान बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी

Dec 10th, 2019

सान्टियागो, २४ मङ्सिर (राससरएएफपी)

चालक दलका सदस्य सहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै बिमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए ।

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले “निराशा” मिश्रित एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताउनुभएको छ । त्यहाँ रक्षा मन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताउनुभएको छ ।

वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समय अनुसार अपराह्न ४:५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ ।

वायुसेनाले साँझ ६:१३ बजे “सतर्कताको अवस्था” घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो ।

चार इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो ।