काठमाडौँ २१ कार्तिक
नौ वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । बैङ्कहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैङ्क अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले लाभांशको प्रस्ताव गरेका हुन् ।
नौ वाणिज्य बैङ्कमध्ये सबैभन्दा धेरै लाभांश बैङ्क अफ काठमाण्डूको छ । बैङ्कले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैङ्कले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैङ्कहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
कुन बैङ्कको कति ?
गत आवको नाफाबाट एभरेष्ट बैङ्क लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैङ्क सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैङ्कले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।
यस्तैगरी, सानिमा बैङ्कले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैङ्कले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैङ्क अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
कुमारी बैङ्कले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैङ्कले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका नौ वाणिज्य बैङ्कमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैङ्कको बुक क्लोज भइसकेको छ ।