neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन आचारसंहिता उल्लंघनमा मुछिए शिक्षक,वडा अध्यक्ष तथा कर्मचारी

निर्वाचन आचारसंहिता उल्लंघनमा मुछिए शिक्षक,वडा अध्यक्ष तथा कर्मचारी

Nov 3rd, 2022

काठमाडौ १७ कार्तिक

लाभको पद धारण गरेका सरकारी कर्मचारीले निर्वाचन आचारहिता उल्लंघन गर्दै पदीय दायित्व विपरीत लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको पाइएको छ । विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा शिक्षकले पदीय आचरणको ख्याल नगरी दल र उम्मेदवारको चुनाव प्रचारमा सक्रिय रहेको सूचना पाएपछि निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्ध परेका उजुरीका आधारमा निर्वाचन आयोगले मंगलबार नौ वटा स्पष्टीकरण सोधेको हो ।

लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनाउनुुभएको छ । उहाँले सबैलाई आचारसंहिताको पालना गर्न आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने जानकारी दिनुुभयो ।

को को लाई सोधियो स्पष्टीकरण ?

आयोगमा अहिलेसम्म एक सय ५० वटा उजुरी परेको छ भने ६० वटा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले मगलबार राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ भने सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी परेको उजुरीमा स्पष्टीकरण सोधेको छ ।

यसैगरी आयोगले मंगलबार नै पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

यस्तै आयोगले पर्वतको कुस्मा नगरपालिका(९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा पनि स्पष्टीकरण मागेको छ । साथै आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं २ (२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र अहिले नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेका विषयमा स्पष्टीकरण सोधेको छ । त्यस्तै पर्वतको नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दलको सभा, बैठकमा सहभागी भएको र गुल्मीको महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको भन्ने विषयमा परेको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन सम्पन्न गराउने अभिभारा वोकेका शिक्षक कर्मचारी तथा वडा अध्यक्षहरुले आचारसंहिता उल्लंघन गरेपछि आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, र निष्पक्ष बनाउन आचारसंहिताको कडा कार्यान्वयन गर्न सबै पक्षलाई निर्देशन दिंदै आएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु नहुने तथा विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्नेमा जोड दिंदै आउनुुभएको छ । तर आचारसंहिताको उल्लङ्घनका घटनाहरुको सार्वजनीक हुने क्रम पनि उत्तिकै छ ।