काठमाडौँ १६ कार्तिक
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् । उनले आयोगमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गरे ।
दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहिन सावित गरिदिनसमेत उनले आग्रह गरेका छन् । आचारसंहिता आफैँमा एक नैतिक र कानूनी बन्धन हो । यस्तो बन्धन दल, उम्मेवार अन्य पक्षले नतोड्ने हो भने आयोग र राज्यका संयन्त्रले कारबाहीका लागि कुनै काम गरिरहनु पर्दैन , प्रमुख आयुक्त थपलियाले भने ।
पहिलो स्पष्टीकरणमा चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लघंनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने वताउँदै उनले हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्ने जानकारी दिए ।
उनले निर्वाचनमा सबै पक्षको सहभागिता हुने आयोगको अपेक्षा रहेको र निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको बताए ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक १७ गतेदेखि निर्वाचन प्रचारप्रसारको अर्को चरण शुरु हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ ले राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।