neapl investment mega bank

विदेशमा तिहार

Oct 28th, 2022

तारा वाग्ले

देशभर तिहार अर्थात यमपञ्चकको रौनक छाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । विभिन्न धार्मिकग्रन्थमा उल्लेख भएअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको  अन्तिम तथा यम पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यही दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिको कामना गर्दै भाइटीका लगाइदिने गर्छन् ।

पछिल्लो समय तिहारको महत्व तथा रौनक देशमा मात्र होइन नेपालीहरु बसोवास गरिएका अरु देशहरुमा पनि उत्तिकै फैलदै गएको देखिन्छ ।  रोजगार र अध्ययनको शिलशिलामा विदेशमा रहेका नेपाली र स्थायी रूपमा विदेशमा बस्ने नेपालीले दशैं पनि उल्लासका साथ मनाए भने तिहार पनि मनाउने तरखरमा छन् । विभिन्न लक्ष्य र उद्देश्यले नेपालबाहिर रहनुपरेपनि नेपालीका लागि ति देशहरुमा आफ्नो चाडपर्वको महत्त्व बेग्लै हुन्छ । विदेश बसाइका क्रममा आफ्नो चाडपर्वलाई धेरै नै मिस गर्ने गरेको विदेशमा रहेका नेपालीहरु बताउँछन् ।

केन्द्रीय तथ्यांक विभागको २०७८ को तथ्यांकअनुसार औपचारिक रुपमा विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ ।  तर अनौपचारिक रूपमा यो भन्दा धेरै संख्यामा नेपाली विदेशमा बसोबास गर्दै आएका छन्। धेरैजसो नेपालीहरु अध्ययनको लागि भारत, अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायतलगायतका मुलुकमा भने  रोजगारीकोलागि कतार, मलेसीया, कोरीया, साउदी अरब, बहराइन, ओमन, दक्षिण कोरियालगायतका मुलुकमा पुगेका छन्। ती देशमा रहेका नेपालीले दसैँ, तिहारलगायतका पर्व मनाउन थालेसँगै नेपाली संस्कृति विश्वभर फैलँदै गएको छ।

विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहीनीहरुले आफू स्वदेश फर्कन नपाएपनि यहीँ कार्यरत अरु दाजुभाइ दिदीबहीनीलाई टिका लागाइदिएर तिहार मनाउने गरेको देखिन्छ । तिहारमा नेपाल फर्कन नपाएका तथा नेपालमा पनि दिदीवहिनी नहुनेहरुले आफू कार्यरत रहेकै देशमा नेपाली सहकर्मीलाई दिदी वा बनाएर टिका लगाउने गरेको देखिन्छ । बहराइनमा घरेलु श्रमिकका रुपमा कार्यरत एक नेपाली महिला आफूले चिनेका एक नेपाली भाइलाई टिका लगाइदिएर तिहार मनाउने गरेको वताउँछिन् । त्यस्तै गैरआवासिय नेपाली संघ तथा विदेशमा गठित नेपाली संघसंस्थाहरुको समन्वयमा पनि भाइटिका लगाउन इच्छुकहरु भेला भई तिहार मनाउने गरेको देखिन्छ । विभिन्न देशमा गठित नेपाली समुदाय तथा संस्थाहरुले नेपाली दाजुभाइ तथा दिदीबहीनीहरुबिच टिका आदानप्रदान तथा शुभकामना आदनाप्रदानका कार्यक्रम गरेर नेपालको झल्को मेटिने गरी तिहार मनाएका छन् । त्यस्तै कतिपयले प्रविधिको माध्यमबाट स्वदेशमा रहेका आफ्ना दिदीबहीनी तथा दाजुभाइसंग शुभेच्छा साटासाट गर्छन् । 

दिदीबहिनीको शुभेच्छामा भएको शक्तिले दाजुभाइ तथा माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश हुने यस पर्वको पवित्र मान्यता छ । सो अनुरुप दिदीबहिनीले कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाएर माइती तथा दाजुभाइको जीवनबाट सम्पूर्ण कष्ट तथा बाधाहरु हटुन् भन्ने कामना गर्छन् । यही दिन दिदीवहीनीले  दाजुभाइको सुस्वाथ्य तथा दिर्घायुको कामना गर्दै अष्ट चिरञ्जिवि तथा  गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्र आदि देवताको को पूजा  गर्छन् । त्यसपछि दाजुभाइलाई तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दूबो, सयपत्री आदिको माला लगाइदिन्छन् ।  अनी आपसमा खुशी साट्दै मिष्ठान्न मसला आदि विभिन्न परिकार खाएर रमाइलो गरिन्छ ।

पौराणीक हिन्दुधर्म ग्रन्थमा यमराजकी बहिनी यमुनाले आफ्ना दाजुलाई यमलोकको कार्यबाट बिदा लिएर पृथ्वीलोकमा आउने निमन्त्रणा दिएको र यमराजलाई आफ्नो  घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको कथा उल्लेख छ । यमराज पाँच दिनसम्म आफ्ना दूतहरूको साथमा पृथ्वी लोकमा बसेको र यमुनाले उनीहरुको आराधना गरेको हुँदा यस पर्वलाई यमपञ्चक भनिएको  पंडित शेषकान्त उपाध्याय वताउनुहुन्छ । उहाँका अनुसार  यमराज यमुनाकहाँ कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसेको कथालाई आधार मानेर तिहार मनाउन थालिएको हो। 

 तिहारको धार्मिक महत्व

यसवर्ष शनीबार साँझ धनतेरस तथा आइतबार यमदीपदान गरी  सुरु भएको तिहारमा  कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइयो।  कृष्ण चतुर्दशीका दिन जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ। यसलाई नरक चतुर्दशी पनि भनिन्छ । ज्योतिशशास्त्रका ज्ञाता डा वासुदेवकृष्ण शास्त्रीका अनुसार पशुहरूमा तुच्छ रूपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवजीको वाहनका रूपमा लिने गरिन्छ । स्याव र शबल नाम गरेका कुकुरको जन्म वैवश्वत कुलमा भएको पौराणिक प्रमाण छ । यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट देखिन्छ । सनातन हिन्दू धर्मावलम्बीले यस वफादार प्राणीको सम्मान गर्दै यमपञ्चकअन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्छन् ।

यमपञ्चकको तेस्रो दिन अमावश्यालाई लक्ष्मीपूजा वा गाईतिहारे औंसी पनि भनिन्छ । मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्दु (दुुर्भाग्य लक्ष्मी र सौभाग्य लक्ष्मी । औंसीको दिन (लक्ष्मीपूजा) बिहान घरलाई लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्य लक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्य लक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ । कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकाले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्य लक्ष्मीको पूजा गर्नुर्ने डा. शास्त्रीको विचार छ ।

यसै दिन साँझ धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धीले युक्त भएका भगवान् गणेश, कुवेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ । गाईलाई लक्ष्मीको रूपमा मानी तेत्तीस कोटी देवताहरू गाईको शरीरमा रहने भएको हुनाले गाईको पूजाले सम्पूर्ण तेत्तीस कोटी देवताको पूजा भएको मानिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले  धनतेरसको दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई  कुबेरको विशेष पूजा गरी मनाउँछन्  । यसैगरी लक्ष्मीपूजाको दिन धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना गरेमा  लक्ष्मी स्थिर भई बस्छिन् भन्ने परम्परादेखिको विश्वास छ।

यमपञ्चकको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोवर्धन पूजा वागोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोवरले गोवर्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्ने गरिन्छ ।  कृष्ण चरित्र भागवतका अनुसार अभिमानी इन्द्रको घमण्डलाई चूर गर्न भगवान् श्रीकृष्णले गोवर्धन पूजाको परम्परा बसाउनुुभएको थियो ।

यसरी यमपञ्चकमा पशुपञ्छी तथा प्रकृतिको समेत पूजा गर्ने पर्व तिहारको महत्व बढ्दै गएको छ ।  पछिल्लो समय नेपालमा मात्र होइन विदेशमा नेपाली चाडपर्व  मनाउने चलन उत्तिकै बढेको छ। नेपाली समुदाय बसोबास रहेका विदेशका सहरमा सामूहिक रूपमा चाडपर्व मनाउन थालिएसंगै दसैँ, तिहार, छठलगायतका पर्व विश्वव्यापी बन्दैछन्। दाजभाइ दिदीबहीनीबीच प्रेम र सद्भाव ल्याउने उज्यालो र फुलैफूलको  सप्तरंगी पर्व तीहारले संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई विश्वभरि फैल्याएको छ । यसको महत्व अझै व्यापक बनोस्, तिहारको शुभकामना ।