neapl investment mega bank
  • गृहपृष्ठ
  • आम निर्वाचन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

आम निर्वाचन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

Oct 23rd, 2022

काठमाडौँ ६ कार्तिक

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसंगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुबै गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब ९ वटा जिल्लमा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएका मध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।