neapl investment mega bank
  • गृहपृष्ठ
  • आयात निर्यात दुवै घट्यो , व्यापार घाटा २४४ अर्ब ९२ करोड रुपैयाँ

आयात निर्यात दुवै घट्यो , व्यापार घाटा २४४ अर्ब ९२ करोड रुपैयाँ

Oct 21st, 2022

काठमाडौं ४ कार्तिक

चालु आर्थिक वर्षको २ महिनामा ३४.९ प्रतिशत निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको २ महिनामा कुल वस्तु निर्यात ३४।९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा झरेको हो । अघिल्लो वर्षको सोही अवधिमा ११५.४ प्रतिशतले बढेको निर्यात यस वष भने घटेको हो ।

भारततर्फ ४५.२ प्रतिशत र चीनतर्फ २१.६ प्रतिशत घटेको तथ्याङ्ले देखाएको छ भने अन्य मुलुकतर्फ भने १३।२ प्रतिशत निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको देखिएको ।

साथै आर्थिक वर्ष २०७९÷०८० को दुई महिनामा आयात पनि घटेको छ । यस अवधिमा कुल वस्तु आयात १३.० प्रतिशत घटेर २७३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ ।

यस्तै, दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशत घटेर २४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।