neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राधिकरणले बेच्यो भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँको बिजुली

प्राधिकरणले बेच्यो भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँको बिजुली

Sep 20th, 2022

काठमाडौं ४ असोज

नेपाल विद्युत प्राधिकरणले भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । गत जेठदेखि विद्युत निर्यात गरेको भदौसम्म कुल ७ अर्ब २० करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरेको हो । 

प्राधिकरणले भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरेको छ भने हालसम्म ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिसकेको छ । 

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ भने भदौ महिनामा मात्रै १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ । 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

निर्देशक घिसिङले भने “चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ ।”

नेपालमा चाडपर्वको समयमा कल कारखाना बन्द हुने भएको कारण आन्तरिक खपत कम हुने भएकोले थप विद्युत निर्यातका लागि प्राधिकरणले पहले गरेको उनले बताए । 

उनी भन्छन्, “अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौँ, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौँ ।”

Biddut data.JPG

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ । 

थप १०० मेगावाट निर्यात प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । 

प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । 

यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२।७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो । 

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ । 

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका भारतले अनुमति दिने विश्वास व्यक्त गरे ।