काठमाडौं १२ भदौ
काठमाडौं महानगरपालिकाले नक्साविपरीत निर्माण भएका भौतिक संचरना हटाउने कार्यलाई निरन्तरता दिदै सडक क्षेत्र नक्साविपरीत निर्माण भएका संरचना हटाउने कार्य जारी राखेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह आफै अनधिकृत संरचना हटाउने कार्यमा सक्रिय हुँदै आएका छन् । नक्सामा समावेश नभएका अनधिकृत संरचना हटाउने विषयमा महानगरले साउन २ मा ३५ दिने सूचना जारी गरेको थियो । भदौ ७ मा ३५ दिन पूरा भएपछि बुधबारदेखि महानगर डोजरसहित कारबाहीमा उत्रिएको हो ।
महानगरले बुधबार न्युरोडको आरबी कम्प्लेक्स, कोजी कम्प्लेक्स, काठमाडौं मलका अनधिकृत संरचना भत्काएको थियो भने बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सका बाहिरी संरचनामा डोजर चलाएको थियो । त्यस्तै न्युरोडमै पार्किङका लागि बनाएको ‘बेसमेन्ट’ मा सञ्चालित नबिल बैंकको शाखा र दरबारमार्गस्थित वान दरबार मलमा सञ्चालित लन्डन पब र मात्सुरी टोक्यो क्याफेको बाहिरी संरचना हटाउन महानगरको तयारी छ ।
महानगरले ट्राफिक व्यवस्थापन गर्न पार्किङका लागि ‘बेसमेन्ट’ बनाउने भवनको नक्सा पासमा ९० प्रतिशतसम्म कर छुट दिँदै आएको छ । त्यस्तै १० हजार वर्ग फिटभन्दा ठूला संरचना निर्माण गर्दा ‘बेसमेन्ट पार्किङ’ अनिवार्य गरिएको छ । तारे होटल, सिनेमा हल सभागृह थिएटर, कम्प्लेक्स, नर्सिङहोम, सरकारी–अर्धसरकारी कार्यालय निर्माण गर्दा २० प्रतिशत पार्किङ क्षेत्र छुट्याउनुपर्ने मापदण्ड छ ।
यस्ता संरचनामा पार्किङका लागि छुट्याइएको ठाउँ स्टुरेन्टका लागि भाडामा लगाउने मात्र होइन, अनधिकृत संरचनासमेत थपिएका छन् । पार्किङका लागि भनेर अनुमति लिएका र अन्य प्रयोजनमा लगाइएका ‘बेसमेन्ट’ को संख्या ३ सय हाराहारी रहेको महानगरपालिकाको अनुमान छ ।
पार्किङ गर्नका लागि बनाइएका बेसमेन्टमा पसल तथा रेस्टुरेन्ट सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ । सबै भवनको पार्किङलाई प्रयोगमा ल्याउँदा फुटपाथको अव्यवस्थित पार्किङ र जाम केही हदसम्म हट्न सक्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तर अवैधानिक रूपमा प्रयोग भइरहेको बेसमेन्टको यकिन तथ्यांक भने महानगरसँग छैन । अहिले अनुगमन गरेर त्यस्ता संरचना हटाउने अभियान सुरु भएको महानगरले जनाएको छ ।
यता काठमाडौं जिल्ला अदालतले पनि वेसमेन्टमा क्यान्टीन चलाएको छ । सवारीसाधन फुटपाथमा राखेको विषयमा गुनासो आएपछि महानगरले अदालत भवनकै नक्सा मागेको थियो । त्यस्तै विद्युत प्राधिकरणले पनि पार्किङको लागि छुट्याएको ठाउँमा क्यान्टीन चलाएको छ ।