neapl investment mega bank
  • गृहपृष्ठ
  • फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी बजारको मुख्य प्रवेशद्वार नै बन्द

फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी बजारको मुख्य प्रवेशद्वार नै बन्द

Aug 13th, 2022

काठमाडौँ २८ साउन

नियमितरूपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो ।

दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आएकी रमिता लामाको भनाइ छ । उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन् ।

कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो ।