काठमाडौँ १० असार
काठमाडौँ महानगरपालिकाले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ ।
महानगर उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी हुन् । आगामी आवका लागि पनि चालु आवको जस्तै पूर्वाधार विकासका लागि सबैभन्दा धरै रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरिएको छ । नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि रु चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जनाएकी छन् ।
बजेट चालु आवको भन्दा रु सात अर्बभन्दा बढी छ ।चालु आवका लागि महानगरले रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट पारित भएको थियो ।
यो कूल बजेटको २० प्रतिशत हो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २.२४ प्रतिशतले हुन आउने रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताएकी छन्।
त्यस्तै स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चितकोषमा जम्मा हुने रु २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।