neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 9th, 2019

काठमाडौं, मंसिर २३

धादिङ, जिल्ला अदालत धादिङको २०५४ वैशाख ३१ गतेको फैसलाले हाडनाता करणी मुद्दामा १० महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी निलकण्ठ नगरपालिका ५ देउरालीछाप बस्ने ५३ वर्षीय अम्बर बहादुर राना मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मगरलाई जिल्ला अदालत धादिङ पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाराको जिल्ला अदालत बाराको २०६७ जेठ २७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी कोल्हवी नगरपालिका २ बस्ने सुरज खाँ चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कर्यालय बाराले जनाएको छ ।

पर्वतको जिल्ला अदालत पर्वतको २०७४ माघ १२ गतेको फैसलाले वहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद सजाय भई तारेखमा छुटी फरार रहेकी प्रतिवादी कुश्मा नगरपालिका १ बस्ने २३ वर्षीया संगिता नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा धरौटी रकम राखि तारेखमा छुटी फरार रहेकी उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । संगितालाई आवश्यक कारवाहीका लागि आइतबार जिल्ला अदालत पर्वतमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।