तारा वाग्ले
राष्ट्रसेवक कर्मचारी जुन दिन देखि सरकारी सेवामा प्रवेश गर्छन त्यही दिन देखि उनीहरुको समय नेपाल सरकारको अधिनमा हुन्छ । राज्यलाई जतिवेला कर्मचारीको आवस्यकता हुन्छ, कर्मचारी सो समय राज्य र जनताको सेवामा खटिनै पर्छ । पेशाप्रति उत्तरदायी, ईमान्दार र प्रतिवद्ध कर्मचारीले आफ्नो समयको सही र भरपुर उपयोग गरेरै एकातिर आफ्नो वृतिविकास गरेका छन् भने अर्कोतिर जनताको सेवामा उपस्थित भएका पनि छन् । आफूहरु त सफल भएका छन् नै प्रशासनलाई पनि चलाएमान बनाएका छन् । खासगरी जिल्लाको प्रशासन हाँक्ने प्रमुख जिल्ला अधिकारीे (प्रजिअ) ले २४ सै घण्टा सचेत र संवेदशनशील रही आफ्नो पारिवारिक, वैयक्तिक र सार्वजानिक जीवन संगसंगै अघि बढाउनुपर्ने हुन्छ । धेरै प्रजिअ हरुले सरकारप्रति समर्पित त्यही २४ घण्टाको पावन्दीमा अनेकौं कार्यतालिका पूरा गर्न भ्याएका पनि छन् । यसरी नै आफूसंग रहेको सिमित समयलाई कत्तिपनि खेर नफाली आफ्नो करिअर , पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायीत्व संगसँगै लैजानुभएकी भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले छोटो समयमै वृतिविकासका धेरै खुड्कीलाहरु पार गर्नुभएको छ । उहाँले समयको मागसंग आफ्ना आवश्यकताको तालमेलगरी समयको रफ्तारलाई पछ्याउनु भएको त छदैछ पेशाप्रतिको बफादारिता निभाउँदै कर्मक्षेत्रमा पनि दह्रोसंग उभिनुभएको छ ।
जन्म थलो बाग्लुङ भएपनि देशका विभिन्न जिल्ला कर्मथलो बने उहाँका । गाउँकै स्कूलवाट एसएलसी पास गरी डाक्टर बन्ने सपनामा पोखरा आएर आइएससी पढ्दै गर्दा शर्मालाई समयले निजामती प्रशासनतिर डोर्यायो । सेवामा छिर्नुअघि १० वर्षसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएकी शर्माले शिक्षाशास्त्र र कानूनमा स्नातक तथा ग्रामिण विकासमा स्नातकोत्तरसम्मको अध्ययन पनि पूरा गर्नुभएको छ । पढाइको शिलशिलामा काठमाडौतर्फ मोडिनुभएकी शर्माको कार्यक्षेत्र भने यहीँबाट झाँगिदै विभिन्न जिल्लासम्म पुगेको छ । २०६६ सालमा शाखाअधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएकी शर्माले सेवा प्रवेशको १२ वर्षमै निजामतीको फस्ट क्लासको तहसम्मको यात्रा पार गरिसक्नुभएको छ ।
‘पहिला निजामती सेवामा आई उच्च तहमा पुगिन्छ भन्ने लक्ष्य थिएन । अर्कोतिर पढ्ने र जागिर खाने काम संगसंगै लैजानू चुनौतिपूर्ण पनि थियो,’ उहाँ भन्नुहुन्छ , “तर समयको समुचित व्यवस्थापन गर्दै आफ्नो व्यक्तित्व विकासमा सचेत र पेशाप्रतिको दायित्वमा संवेदनशील भएको कारण अहिले यो ठाउँमा पुगेँ” । यस अवधिमा उहाँले विभिन्न मन्त्रालय तथा रामेछाप र गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । २०७८ देखि भक्तपुरमा कार्यरत प्रजिअ शर्माले जनताको घरदैलोमा पुगेर असक्त अपाङ्ग र वृद्धलाई नागरिकता र विपद्का घटनामा घरदैलोमा नै राहत वितरण गर्दै उनीहरुको सुखदुःको साक्षी बन्दै जनतालाई सरकारको उपस्थिति वोध गराइदिनुभएको छ भने ग्रामिण सेवाग्राही माझ पनि छुट्टै पहिचान स्थापित गर्नुभएको छ । जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा आफ्नो कार्यअवधिको अधिक समय विताउनुभएकी शर्माले निजामती सेवामा चुनौती भन्दा अवसर ठानेर आफ्नो करिअर र कार्यक्षेत्रमा समेटेका भोगाइलाई यसरी सुनाउनुहुन्छ ।
इच्छा थियो डाक्टर बन्ने समयले बनायो प्रशासक
मैले एसएलसी सम्मको पढाइ बागलुङको गााउँबाट र आइएससी पोखराबाट गरे। एसएलसी फस्ट डिभिजन भएकोले शिक्षकहरुले पनि कि इन्जिनियर बन्नु पर्छ भन्ने सल्लाह दिने गरेको भएतापनि डाक्टर नै बन्छु भनेर आइएससी पढेकी थिएँ । पढ्दा पढ्दै बिहे भयो । तर विवाह घर परिवारको करले गरेको त होइन । विवाह पछि श्रीमानसँग काठमाडौँ आएर पिके क्याम्पसमा पढ्न थालेँ। यस क्षेत्रमा आउनुभन्दा पहिला गैरसरकारी क्षेत्रमा ८–१० वर्ष काम गरे । मैले खास गरी जेण्डर र विकास, महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने तालिम दिने काम गर्थे । जेण्डर मास्टर प्रशिक्षक पनि भए । यही समयमा निजामती सेवाको नीति निर्माणमा महिला सहभागिताको बढाउनुपर्ने विषय पनि उठ्थ्यो । आफैले महिला सहभागिता र सशक्तिकरणको क्षेत्रमा काम गर्ने भएकोले पनि मलाई आफू नीति निर्माणको तहसम्म पुग्नैपर्छ भन्ने लाग्न थाल्यो । श्रीमान् तथा अभिभावकले पढ्नको लागि हौसाला र प्रेरणा दिनुभयो । हरेक पारिवारिक काममा सहयोग गर्नुभयो । पढाई निर्वाध रुपले अघि बढाउन पाएँ । लोकसेवा आयोगले विज्ञापन गरेपछि मैले पनि एनजिओको जागिर छोडेर शाखा अधिकृतको तयारी थालेँ । निजामति सेवामा २०६६ सालमा अधिकृत तहबाट प्रवेश गरेँ । राष्ट्रिय योजना आयोगमा मेरो पहिलो पोस्टिङ थियो। त्यहाँ ६ वर्ष काम गरेँ ।
खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव
कार्यालयको कामप्रति म जती प्रतिवद्ध र उत्तरदायी थिएँ आफ्नो व्यक्तित्व विकासमा पनि उत्तिकै सचेत थिएँ । मैलै काम गर्दा गर्दै नै माथिल्लो पदको लागि लोक सेवा तयारी जारी राखेकी हुन्थेँ । तर पढ्नकै लागि भनेर कहिल्यै विदामा बसिन ।बर्षमा पाउने भैपरि बिदा पनि उपभोग नगरेको अवस्था थियो । पेशागत जिम्मेवारी पूरा गर्दै बाँकी समय बच्चा हुर्काउने, पढाउने, पारिवारिक, सामाजिक, जिम्मेवारी गरेरै आफ्नो पढाइ पनि निरन्तर अघि बढाएकी थिएँ । कार्यालयमा काम गर्दा लोकसेवा आयोगको पाठ्यक्रमसंग मिल्दोजुल्दो व्यवहारिक ज्ञान प्राप्त हुन्थ्यो । लोकसेवाको तयारी गर्दा पढेका सैद्धान्तिक ज्ञान र काम गर्दा बटुलेका व्यवहारिक ज्ञानको सही संयोजन गरेर पढ्नुपर्छ । मैलेपनि यसै गरेँ । फलस्वरुप २०७२ सालमा खुला प्रतियोगिताबाट उप–सचिव पास गरेँ। त्यसपछि संचार तथा सूचना प्रविधि मन्त्रालायमा मेरो पदस्थापन भयो । आफ्नो पदअनुसारको जिम्मेवारी निर्वाह र लोकसेवाको तयारी निरन्तर जारी नै थियो । यही क्रममा फेरि खुला प्रतिस्पर्धाबाट २०७५ सालमा सह–सचिब भए । कामको प्राथमिकिकरण गर्दै समयको भरपुर उपयोग हुने गरी कार्यालयको काम र घरको काम व्यवास्थापन गरेर बाँकी भएको समयलाई यता तिरको अध्ययनमा खर्च गरेरै म अहिले यो स्थानमा पुगेकी छु। त्यसपछि वागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा ७ महिना सचिवको रुपका काम गरेँ । केन्द्रमा सहसचिवको पद भएपनि प्रदेशमा त्यो पद सचिव सरहको पद हुन्थ्यो । त्यसपछि फेरि १३ महिना महिला मन्त्रालयमा काम गरेँ । अनि २०७६ सालमा रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा मेरो पहिलो पोस्टिङग भयो । त्यहाँ मैले ११ महिना काम गरे । २०७७ पुसमा प्रमुख जिल्ला अधिकारीकै रुपमा गुल्मी सरुवा भयो ।
राम्रो काम गर्दै जाँदा अवसर आफै आउन थाल्छन् ।
हालसम्मको कार्यअवधिमा भोगेका अनुभवमध्ये सबैभन्दा आनन्द र सन्तुष्टी प्रमुख जिल्ला अधिकारी पदमा रहँदा मिलेको छ । जिल्लामा रहेर काम गर्दा नागरिकका समस्या नजिकबाट बुझ्न पाइयो । गुल्मीमा पहिलो महिला प्रजिअ भएर आएको म नै थिएँ। लामो समयसम्म पुरुष साथीहरुले जिल्लामा नेतृत्व गरि रहँदा एकै पटक महिला सिडियो देख्दा सेवाग्राहीमाझ पनि मैले निकै उत्साह देखेकी थिएँ । जिल्लावासीहरुले महिला प्रजिअ भएर आएपछि हाम्रा छोरी बुहारीलाई पनि प्रेरणा मिल्छ भन्नु भयो । कतिपय सहकर्मीबाट आफ्नो अपेक्षा अनुसारको व्यवहार देखिन्थेन । जुन स्वभाविकै हो । किनभने मैले सानोतिनो कुरालाई म महिला हुँ त्यसैले मलाई यस्तो व्यवहार भयो कि भनेर कहिल्यै सोचिन । आफ्नो काममा लगनशील र इमान्दार भएर लागेकै कारण कसैले पनि प्रश्न उठाउने वा मेरो क्षमतामा अविश्वास गर्ने मौकै पाएनन् । हरेक कुराहरु परिवर्तन भइसकेपछि त्यसको प्रभाव त देखिन्छ नै । पुरुषले गरिरहेको काम महिलाले कसरी गर्छ भन्ने देखि हरेक कुराको चासो राखिएको हुन्छ । कतिपय कुराहरु बाहिर आएका हुन्छन् भने कतिपय आएका हुँदैनन् । तर हामीले त्यतातिर ध्यान नदिइ आफ्नो कर्मक्षेत्रमा संवेदनशील भएर लागिरहनुपर्छ । अवसरहरु सिमित छन् । प्रतिस्पर्धी धेरै छन् । जसले गर्दा इमान्दार कर्मचारीहरु सबैले योग्य हुँदाहुँदै पनि समान रुपमा अवसर नपाएका पनि हुन्छन् । निजामति सेवा त मेरिटमा आधाररित भएकोले हरेक कुरामा योग्य व्यक्तिले नै सेवामा प्रवेश पाउँछ । महिलाले पनि आफूलाई निर्णायक तहमा उभ्याउन र टिकाउन पहिले त आफ्नो क्षमतामा निखार ल्याउनु पर्छ । आफूले राम्रो काम गर्दै जाने हो भने ढिलै भएपनि प्रगतिका बाटाहरु खुल्दै जाने छन् ।
जनतालाई नजिकबाट चिन्ने मौका
मैले अहिलेसम्म काम गरेका ठाउँमध्ये धेरै चुनौति त प्रजिअ भएपछि नै आएका छन् । तर ह्यान्डिल नै गर्न नसक्ने चुनौति भने छैनन् । सरकारी सेवामा प्रवेश गरेपनछ कर्मचाररीको सबै समय सरकारको अधिनमा रहन्छ । जहाँ जतिवेला जे परेपनि उपस्थित हुनुपर्छ । अझै प्रजिअ को दायित्व त १० देखि ५ मात्र खटेर मात्र पूरा हुँदैन । आफ्नो सबै समय सेवाग्राही र राज्यको लागि दिनुपर्ने हुन्छ । यस क्षेत्रमा कहिले आलोचना हुन्छ कहिले प्रशंसा । हामीले काम गर्दा लगनशिलता र ईमान्दारितापूर्वक गर्नु पर्दछ । सबै पक्षलाई सन्तुलित रुपमा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने हुन्छ । महिला र पुरुष भएका कारणले कुनै पनि काममा पछि हट्नु हुँदैन । संघ, प्रदेश र स्थानीय तहका निकायहरु राजनैतिक दल, निजी क्षेत्र, नागरिक समाज र सेवाग्राहीसँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्नुपर्ने भएकोले सबैको विश्वास जित्नु पनि उत्तिकै आवश्यक छ । आफूले रोजेको क्षेत्रमा लगनशिल र ईमान्दार भई निरन्तारता दिंदै आत्माविश्वासका साथ मेहनत गर्दै जानुपर्छ । यस क्रममा अरुले सहयोग गरेनन् भने पनि सहयोग पाउने वातावरण मिलाउनुपर्छ । जुनसुकै कार्यका लागि भित्रैदेखिको अत्माविश्वास हुनु एकदमै जरुरी हुन्छ । प्रजिअको पद वहुआयमिक र संवेदनशील भएकोले आफ्नो पदको अहमता नराखी सबैसँग मिलेर समन्वय र सहकार्य गर्नुपर्छ । हरेक विषयवस्तुलाई सन्तुलनमा राखेर निष्पक्ष भएर काम गर्नुपर्ने हुन्छ । यसरी हरेक चुनौतिमा आफ्नो दह्रो उपस्थिति भएकै कारण मैले यो पदमा रहदाँ गरेका कामको सधैँ गर्व हुने गर्छ । मैले प्रजिअ पदमा हुँदा जति काम गरे सायद त्यति काम अन्य कार्यलयमा भएन होला । धेरैलाई सेवा दिने ठाउँ र आफूलाई चिन्ने ठाउँ जिल्ला नै हो । साथै जनतालाई नजिकबाट चिन्ने र सरकारको उपस्थिति बोध गराउन पनि सिडिओको भूमिकाले ठूलो अर्थ राख्छ ।
सेवाग्राहीले प्रशासकमा सरकारको छवी देख्छन्
सेवाग्राहीले प्रशासकप्रति धेरै आशा भरोसा र विश्वास राखेको हुन्छ । मैले तीन वटै जिल्लामा काम गर्दा जनताको घरमै पुगेर सेवा पनि दिइयो । महिला प्रजिअ देख्दा महिला दिदीबहीनी तथा आमाहरुले आफूभित्रका पीडा निर्धक्कका साथ राख्नुहुन्थ्यो । महिलासँग खुलेर बोल्न महिलालाई सहज हुने हुँदा पनि मैले महिलाका समस्याको पहिचान गरी आवश्यक सेवा दिन पाएँ । प्रशासकले कानून बमोजिम काम गर्ने हो । प्रशासकले सबैलाई न्याय र सेवा दिने हो । विभिन्न जिल्लामा महिला र किशोरी बढी पीडित भएको हुदाँ महिला प्रमुख हुँदा धेरैले खुलेर आफ्नो कुरा राख्न सक्ने देखियो। कर्मचारीले आफूले गर्ने पर्ने काम गर्दा पनि सेवाग्राहीले निकै जस दिँदा रहेछन् । हामीले सरकारको प्रतिनिधिको रुपमा काम गर्ने हो । हामीले गर्ने व्यवहार, शैली र सेवाको प्रभावकारिताले सेवाग्राहीले सरकार आफूसंगै रहेको आभाष पाउँछन् । हाम्रो उपस्थिति नै सरकारको उपस्थिति हो । त्यसैले उनीहरुको समस्या बुझेर काम गरि दिँदा त सेवाग्राहीले प्रशासकलाई भगवान् नै मान्छन् । त्यसैले सेवाग्राहीलाई मात्र सेवा प्रदायक समक्ष आउने नभई समय समयमा सेवा प्रदायक पनि सेवाग्राहीसम्म पुग्ने प्रणालीको विकास गर्नुपर्ने हुन्छ । प्रशासकले कानून मिचेर कुनै काम गर्नु त भएन तर कतिपय अवस्थामा सेवाग्राहीको मर्का बुझेर स्वविबेक प्रयोग गरी सेवा दिनुपर्छ । मैले पनि आफ्नो क्ष्मताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु । यसो गर्दा सेवाग्राहीको अनुहारमा देखिएको खुशी नै मेरो सबैभन्दा ठूलो उपलब्धी हो । त्यतिवेला गरेका काम सम्झेर अहिले पनि मलाई विभिन्न जिल्लाबाट सेवाग्राहीको फोन आउँछ । मलाई यसरी सेवाग्राहीको सेवा गर्ने मौका मिल्यो त्यसैले निजामति सेवा मेरो लागि समेत वरदान सिद्ध भएको छ । मेरो कामले कसैको मुहारमा मुस्कान ल्यायो त्यो नै मेरो खुशी र सन्तुष्टीको कारण हो ।