neapl investment mega bank
  • गृहपृष्ठ
  • लोग्नेको क्रूरताको सिकार गीताको मृत्यु, परिवार भन्छ, किरिया खर्च पनि छैन

लोग्नेको क्रूरताको सिकार गीताको मृत्यु, परिवार भन्छ, किरिया खर्च पनि छैन

May 31st, 2022

चितवन १७ जेठ

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीले ज्यान गएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको हो।

श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि एकपटक शौचालय पनि गएकी थिइन् ।

तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका स्थानीयले जानकारी दिएका छन् ।

गीता ज्याला मजदुरीको काम गरेपनि बिहानैदेखि रक्सी पिउँदै बस्ने रामचन्द्र केही काम गर्दैन थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खाने पैसा नदिए कुटपिट गर्ने सोही वडाका वडा सदस्य ज्ञान्ती पासवानले जानकारी दिनुभयो ।

सुकुम्बासी माझीको उपचार खर्च भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट निशुल्क उपचार हुँदै आएको थियो । तर, गीताको मृत्युपछि काजकिरिया गर्ने खर्च समेत नभएको उनका आफन्त तथा स्थानीयले बताएका छन् ।

गीताको ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् ।

गीताका श्रीमान प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।स्वतन्त्र समाचार