काठमाडौ १५ जेठ
सरकारले प्रत्येक वर्ष दुई लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिने घोषणा गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ति युवालाई रोजगारी दिइने जनाइएको छ । यसको लागि सरकारले सात अर्ब पाँच करोड बजेट छुट्याएको छ।
आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट छुट्याएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अहिले पनि चलिरहेको छ। यो वर्ष हालसम्म एक लाख ३० हजारभन्दा बढी युवाहरुले रोजगारी पाइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । यो वर्ष पनि दुई लाखलाई १०० दिनको रोजगारी दिने लक्ष्य सरकारको छ।
सरकारले आगामी आर्थिक वर्षबाट यो कार्यक्रम पुनः संरचना गरी श्रम बजारको आबश्यकताअनुसार बेरोजगार युवाहरुलाई सीप तथा तालिम प्रदान गर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले नेपाली श्रम बजारका लागि आबश्यक सीपको अध्ययन गरेर सरकारले नेपाली श्रमिकलाई नै दक्ष बनाउने नीति लिने वताए ।