काठमाडौँ ८ जेठ
बेशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ७ सय ५३ पालिका मध्ये हालसम्म ७ सय १५ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
आइतबार बेलुकासम्म सार्वजनिक भएका नतिजामा नेपाली कांग्रेसले धेरै पालिका जितेको छ । ७ सय १५ पालिकामध्ये नेपाली कांग्रेसले ३ सय १४ पालिका प्रमुख र २ सय ९२ पालिकाको उपप्रमुख जितेको हो ।
यसैगरी एमालेले १ सय ९३ पालिका प्रमुख र २ सय १९ पालिकाको उपप्रमुख जितेको छ । साथै नेकपा माओवादीले १ सय २० पालिकाको प्रमुख र १ सय २५ पालिकाको उपप्रमुख जितेको छ भने जनता समाजवादी पार्टीले २९ पालिकाको प्रमुख र ३० पालिकाको उपप्रमुख पद जितेको छ ।
एमालेबाट अलगिएको नेकपा एकीकृत समाजवादीले १४ पालिकाको प्रमुख र २१ पालिकाको उपप्रमुख पद जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १४ पालिका प्रमुख र १० पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ ।
त्यस्तै अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले जम्मा २८ पालिकामा प्रमुख र १८ उपप्रमुखमा आफ्नो सिट सुनिश्चित गरेका छन् ।