आधारभूमि संवाददाता
ललितपुर २७ बैशाख
लालितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी (केन्द्र)को तालमेलमा यसअघिका मेयर गजेन्द्र महर्जनले उमेदवारी दिनुभएको छ । गोदावरी नगरपालिकामा यसपटक आफ्नो जित लगभग पक्का भएको उहाँ वताउनुहुन्छ । ।
गोदावरी नगरपालिकामा २१ जना नगर प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। १४ वडा रहेको गोदावरीमा ५४ हजार ३ सय ९९ जना मतदाता छन्।
महर्जनले यसअघि मेयर हुँदा यस क्षेत्रमा राम्रो काम पनि गरेका र गोदावरीमा नेवार समुदायको बाक्लो उपस्थिती भएकोले त्यहाँ गजेन्द्रको पकड राम्रो छ। राजनीतिक पृष्ठभूमि पनि बलियो छ।
ललितपुर ठेचोका स्थानीयबासी महर्जन २०४७ देखि राजनीतिक यात्रामा हुनुहन्छ। दुइ पटक नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को क्षेत्रीय सभापति हुनभएका महर्जन अहिले ललितपुर जिल्लाको उपसभापति हुनुहुन्छ ।
आफ्नो ५ वर्षे कार्यकालमा पूरा गर्न नसकेका कामलाई निरन्तरता दिन आफू पुन मेयरको प्रत्याशी भएको उहाँ वताउनुहुन्छ। नगरपालिकालाई धुलो धुवाँमुक्त बनाउने उहाँको मूख्य एजेण्डा हो। साथै गोदावरीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधतायुक्त बनाई यहाँका संभावनाहरुलाई बाहिर ल्याउने उहाँ वताउनुहुन्छ।
साथै छरिएका वस्तीलाई एकीकृत गर्ने, स्वास्थ्य क्षेत्र सुधार्ने र सबैलाई शिक्षाको पहुँचमा ल्याउने बिषय उहाँको प्राथमिकतामा छन्।