आधारभूमि संवाददाता
ललितपुर २४ बैशाख
ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट मेयरमा उमेदवारी दिएका माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले बिहान सात बजेदेखि ११ बजेसम्म घरदैलो कार्यक्रममा व्यस्त छन् । त्यस्तै बेलुका टोलटोलमा भेटघाट र छलफल गरेर भोट मागेका कट्टेलले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने वताएका छन् ।
सो नगरपालिकामा बाटो अस्तव्यस्त भएकोले त्यसलाई व्यवस्थित बनाउन र खानेपानी समस्या समाधान गर्न एक घर एक धाराको अभियान अघि सारेका उनले वताए । सो क्षेत्रमा पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन नसकेको वताउदै उनले यहाँको बेरोजगारी पनि उत्तिकै समस्या काम गर्न नगरपालिकाबाट केही सिर्जनशील काम गर्ने योजना बनाइरहेको वताएका छन् ।
२०७४ को चुनावमा पनि उमेदवार रहेका कट्टेल एमालेका वासुदेव थापासंग पराजित भएका थिए । यसपटक भने काँग्रेससहित गठबन्धनको उम्मेदवार भई प्रचारमा जुटेकाले आफूले जित्नेमा ढुक्क छन् । अघिल्लो चुनावमा यो नगरपालिकामा एमालेले ९० प्रतिशत जितेको थियो तर यहाँको विकास अवस्था कस्तो छ भनेरनगरवासीले राम्रोसँग बुभीसकेकोले जनताले आफै मूल्यांकन गर्ने उनले वताए । अहिले यस नगरपालिकामा गठबन्धनकै पक्षमा माहोल देखिएकोले जनलहर र उत्साह आफ्नै पक्षमा रहेको उनको दावी छ ।