ललितपुर २३ बैशाख
स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र को गठबन्धन बनेको ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता शिव प्रसार कट्टेलले नगर प्रमुखको उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सो नगरपालिकामा नेपाली काँग्रेसका नेतृ लक्ष्मी महर्जन नगर उप प्रमुखको पदमा उम्मेदवारी रहेको छ । उनीहरुले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारहरु चुनाब प्रचारप्रसार तथा घरदैलो अभियानमा व्यस्त छन् ।
पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित महालक्ष्मी नगरपालिकाको सबै वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा व्यस्त रहने नेता कट्टेलको कार्यतालिका छ । गठबन्धनका तर्फबाट नगरपालिकामा उपप्रमुखका उम्मेदवार नेपाली काँग्रेस पार्टीका नेतृ लक्ष्मी महर्जन पनि सँगसँगै चुनावी घरदैलो कार्यक्रममा जुट्नुभएको छ ।
घरदैलो अभियान लिएर नागरिकको दैलोमा पुग्नुभएका कट्टेलले नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, स्वरोजगारका कुरालाई प्राथमिकतामा राख्ने उम्मेदवार माझ प्रतिवद्धता गर्नुभएको छ । यसपटक महालक्ष्मी नगरपालिकामा नयाँ अनुहार र केन्द्रिय राजनीतिमा पहुँच बनाएका तथा अन्तराष्ट्रिय सम्बन्ध समेत रहेका शिव प्रसाद कट्टेलप्रति स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।
यसैगरी उपप्रमुख उम्मेद्वार नेपाली काँग्रेस पार्टी नेतृ लक्ष्मी महर्जन आफू नागरिकको घरदैलोमा पुगेर भोट माग्नुका साथै भएका विकास निर्माणको समेत अनुगमन गर्दै आवश्यकता पहिचान गर्ने काम गरिरहेको बताउनुभएको छ ।