neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाका उम्मेद्वार चाम्लिङले चुनाव जितेपछि तलब नलिन र सरकारी गाडी प्रयोग नगर्ने घोषणा

राप्रपाका उम्मेद्वार चाम्लिङले चुनाव जितेपछि तलब नलिन र सरकारी गाडी प्रयोग नगर्ने घोषणा

May 1st, 2022

पाँचथर,१८ बैशाख 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार मदन चाम्लिङले चुनाव जितेपछि तलब नलिने, सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।

‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ राप्रपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार मदन चाम्लिङले चुनावी सभालाई सम्बोधन गर्दै भने ।

‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा, गाउँपलिका अध्यक्षको तलब नलिने, सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मूलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु,’ उनले भने ।

राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेद्वार रोशिना बोहोराले विपन्न र जेहेन्दार एक विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने बताए ।

महिला र युवाद्वारा संचालित साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने बोहोराले कार्यक्रमलाई सम्बोधन गर्दे भने ।

राप्रपाका उम्मेद्वारहरुले १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म रू ३,००० मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निशुल्क वाईफाई सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीप विहिन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने बताएका छन् ।