neapl investment mega bank
  • गृहपृष्ठ
  • अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ :प्रधानमन्त्री

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ :प्रधानमन्त्री

Dec 8th, 2019

काठमाडौँ, २२ मङ्सिर (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । सन्देशमा उहाँले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताउनुभएको छ ।

दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । दु्रत आर्थिक, विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सृजना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्नमा सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री आलेल्ले स्मरण गर्नुभएको छ ।

“सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो,” उहाँले सन्देशमा भन्नुभएको छ । यसैगरी मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिनुभएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

यसैअवसरमा बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीनदशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास, सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताउनुभएको छ । सार्कका महासचिव अमजद हुसेन बी सियालले आठवटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।