neapl investment mega bank
  • गृहपृष्ठ
  • निजामती सेवामा मिनाः पहिलो महिला वाणिज्य प्रतिनिधि

निजामती सेवामा मिनाः पहिलो महिला वाणिज्य प्रतिनिधि

Apr 23rd, 2022

तारा वाग्ले 

काठमाडौ १० बैशाख

विभिन्न क्षेत्रमा अब्बल दर्जाको कार्यसम्पादन गरी आफ्नो प्रतिनिधित्व बढाउँदै लगेका महिलाहरू निजामती सेवामा पनि आफ्नो कृयाशीलता बढाएर पहुँच विस्तारमा लागेका छन् । यतिखेर स्थानीय तहको चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रक्रियामा कर्मचारीहरू पनि जुटेका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेसँगै कर्मचारीको व्यस्तता बढेको छ । यसै सिलसिलामा महिला कर्मचारीहरू पनि आफूलाई तोकिएको निर्वाचन केन्द्रमा पुगेर आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने तयारीमा छन् । निर्वाचन आायोगले निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी दिएर राजपत्रांकित श्रेणीका धेरै महिला कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा खटाएको छ । निर्वाचन प्रकृयामा खटिएका अधिकृतले निर्वाचन कार्यक्रम अनुरूप उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने छन् । राज्यले महिलालाई विश्वास गरेर निर्णयक तहबाट हुने कार्यको जिम्मेवारी दिएमा उनीहरूले पनि उत्कृष्ट कार्यसम्पादन गरी राज्यको हितको लागि योगदान दिन सक्छन् । यसको पछिल्लो उदाहरण बन्नुभएको छ गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागकी निर्देशक मिना अर्याल । पछिल्लो समय अर्याल स्थानीय निर्वाचन प्रक्रियामा निर्वाचन अधिकृतको रूपमा पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा खटिनुभएको छ । अर्याल भन्नुहुन्छ,” निर्वाचन अधिकृतले तोकिएको पालिकामा प्रचलित कानून बमोजिम निर्वाचन गराउनेसम्बन्धी सम्पूर्ण काम कारवाही स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा गर्नु गराउनु मुख्य जिम्मेवारी भएकोले म त्यस काममा पूर्ण प्रतिबद्धता साथ लागि परेको छु । म विगतमा पनि मतदान अधिकृत र सहायक निर्वाचन अनुगमनकर्ता भएर काम गरिसकेको छु । ” अर्यालले विभिन्न समयमा राज्यको निर्णायक तहबाट गरिने कार्यमा योगदान दिँदै आउनुभएको छ  भने अंग्रेजी भाषामा वाणिज्य, लगानी, उद्योग, अर्थतन्त्र लगायतका विषयमा अनेकन लेख लेख्नु भएको छ।  २०७८ कात्तिकदेखि पञ्जिकरण  विभागमा निर्देशकको रूपमा कार्यरत अर्यालले व्यक्तिगत घटना र सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।  निजामती सेवामा प्रवेश गरेदेखि निजामती सेवाको निर्णयक तहमा रहेर सार्वजनिक सेवा प्रवाहमा उहाँले निर्वाह गर्दै आउनुभएको भूमिका र अनुभवको वर्णन उहाँकै शब्दमाः

१६ वर्षमै बिहे, २१ वर्षमा सेवा प्रवेश

म गुल्मीको रेसुङ्गा नपा– ३ (साविक अर्खले गाविस) निवासी  कुश्माखर मरासिनी र मानकुमारी मरासिनीको छोरी हुँ । बुवा आमाको आम्दानीको श्रोत भनेको तरकारी र फलफूल खेती हो । आर्थिक अवस्था खासै सबल नभए पनि सबै छोराछोरीलाई पढाउनु पर्छ भन्ने सोच मेरो बुवामा भएकोले दुःख–सुख गरेर पढ्ने अवसर पाइयो । म १ देखि ३ सम्म गाउँकै स्कूलमा पढें । म त्यहाँ सधैं फस्ट हुन्थें । हाजिरीजवाफ प्रतियोगितामा त अब्बल नै थिए ।  ४ देखि १० कक्षासम्म जिल्लाको सदरमुकाम तम्घासको महेन्द्र माविमा पढें । त्यहाँ पनि मेरो पढाइ उत्कृष्ट थियो । त्यो बेला छोरीहरूको सानैमा विवाह गर्ने प्रचलन अनुरूप मेरो पनि १६ वर्षकै उमेरमा ९ कक्षा पूरा गरेर १० मा भर्ना हुने समयमा मागी विवाह भएको थियो । मैले १० कक्षा त्यही स्कूलबाट पूरा गरें ।  त्यो बेला मेरो श्रीमान् पनि त्यही जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसमा प्रमाणपत्र तह पढ्दै हनुहुन्थ्यो । प्रमाणपत्र तह सकेर उहाँ काठमाडौं आउनु भयो र एउटा प्राइभेट कम्पनीमा एकाउन्टेन्ट पदमा जागिर गर्न थाल्नु भयो । एकातिर मलाइ पनि गाउँमा बस्ने, काम गर्ने भित्रैदेखि अनिच्छा थियो । अर्कातिर ममा अथाह आँट थियो– म जे पनि गर्न सक्छु भन्ने । गाउँ र परिवारमा त अरु नै हुनुहुन्छ, मैले केही फरक गर्नु पर्छ भन्ने लागिरहन्थ्यो ।  अनि म पनि परिवारको सहयोगमा श्रीमान्सँगै काठमाडौ आएँ । मैले २१ वर्षमा लोकसेवा आयोगबाट लिइने प्रतिस्पर्धात्मक परीक्षाको सहायक लेखापाल (मुखिया सरह) पदमा पहिलो पटकमै नाम निकालें । त्यो बेला मैले परिवार र आफन्तबाट अथाह माया र सम्मान पाएँ।


महिलाहरूले सकेसम्म कहिल्यै पनि घरकोपरिवारको तथा बच्चाको समस्या कार्यालयमा सुनाउनु हुँदैन । घरको व्यवस्थापन घरमै दुःखसुख गरेर गर्नु पर्छ । यो व्यवस्थापकीय कला पनि हो । कार्यालयमा त पुरुष कर्मचारीभन्दा २/४ गुणा बढी काम गरेमा कसैले पनि कुरा काट्न पाउँदैनन् । मैले कहिल्यै घरायसी समस्याको गन्धसम्म पनि कार्यालयमा आउन दिइन ।


एउटै पदमासँगै नाम निकाल्ने पहिलो जोडी

जागिर प्रारम्भ गर्दै ठूलो बाबु जन्मिसकेको थियो । मेरो श्रीमान् पनि लिटिल एन्जिल स्कूलमा पढाउन थाल्नु भयो । दुबै जनाको पढाइ, लोकसेवाको तयारी, बच्चा, घरव्यवहार सबै एकैचोटी, उमेर पनि दुबैको सानै । घर परिवारबाट पनि आवश्यक सहयोग पाएका थियौं । जसले गर्दा समय अत्यन्तै चुनौतीपूर्ण थियो तर हामी २ जनाले मिलिजुली एकले अर्कालाइ साथ सहयोग दिंदै निरन्तर अगाडि बढ्यौं । यसैबीच मेरो श्रीमान् र मैले लोकसेवा आयोगको शाखा अधिकृत पदमा एउटै विज्ञापनमा एकै पटक नाम निकाल्यौ । सम्भवतः हामी नै लोकसेवा आयोगको शाखा अधिकृत पदमा एकै पटक नाम निकाल्ने देशकै पहिलो जोडी हौं । त्यो बेला हामी खुशीले रोएका पनि थियौं । मेरो श्रीमान्‌ले पहिलो पटकमै उपसचिव पनि खुला प्रतियोगिताबाट पास गर्नु भयो । हाल उहाँ सहसचिव पदमा कार्यरत हुनुहुन्छ । मेरो पनि उपसचिवमा खुलातर्फ लिखितमा नाम निस्किए पनि अन्तर्वार्ता बिग्रियो । निजामती सेवामा प्रवेश गरेदेखि सहायक लेखापाल, सह लेखापाल, नायव सुब्बा, शाखा अधिकृत सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेको छु ।  शाखा अधिकृत भएको केही समयपछि सानो बाबु पनि जन्मियो । कामको सिलसिलामा विदेश जाने अवसर पनि दुबैले पाइरहेको हुँदा घर व्यवहार चलाउन पनि सजिलो नै थियो। बाबुहरू पढाइमा अब्बल नै रहेकाले ठूलो लगानी आवश्यक परेन । ठूलो बाबु त ब्याचलरदेखि पिएचडीसम्म नै विश्वका उत्कृष्ट मध्येका विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा पढेकोले उल्टै हामीलाई आर्थिक सहयोग भयो ।

जिल्लाबाटै पहिलो शाखा अधिकृत

सेवा प्रवेशपछिको पहिले कार्य अनुभव अत्यन्त उत्साहप्रद रह्यो । समग्र निजामती सेवाभित्र नै त्यसरी महिलाले प्रतिस्पर्धात्मक परीक्षा पास गरेर आउनेको सङ्ख्या औंलामा गन्न सकिने मात्र हुन्थ्यो । गुल्मी जाँदा पनि परिवारमा र गाउँमा एकदमै सम्मान पाउथें । शाखा अधिकृतमा पहिलो पोष्टिङ महिला मन्त्रालयमा भएको थियो । काममा म शुरुदेखि नै अति नै लगनशील र इमान्दार थिएँ । सबैले एकदम राम्रो मान्नु हुन्थ्यो । मेरो जानकारीमा आएसम्म म भन्दा अगाडि जिल्लाबाट कोही पनि लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुनुभएको थिएन ।  काम गर्दै जाँदा राष्ट्र सेवा र जनसेवा गर्न पाइने देखेपछि म धेरै नै उत्प्रेरित भएँ र निजामती सेवाभन्दा बाहिर काम नगर्ने भित्रैदेखि प्रतिवद्धता गरें । परिवार र नातेदारहरूको सधैंको उत्प्रेरणा, माया  र हौसला तथा मेरो श्रीमान्को सदाको साथ सहयोगले अगाडि बढ्न प्रेरित हुँदै गएँ । उहाँहरूको सद्भाव र प्रेरणा मेरा लागि अत्यन्तै महत्वपूर्ण छन् । म पहिलो पटक २ वर्षको बाबु छाडेर ३ महिनाको लागि विदेश जानुपर्ने  भयो । गाउँबाट आमा वा सासु आउने अवस्था थिएन । मेरो श्रीमान्‌ले सबै जिम्मा लिएर मलाई जान प्रोत्साहन गर्नुभयो । साथै म आफू पनि स्वदेश, विदेश, सुगम, दुर्गम जहाँको जिम्मेवारी पनि मैले सधैं अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै लगनशीलताका साथ सम्पन्न गर्दै आएको छु । गरिब जनता समेतले तिरेको करबाट हामीले तलव सुविधा लिएको कुराले मलाई सधैं भित्र मनमा छुन्छ । यसले नै मलाई सधैं राम्रो काम गर्ने उत्प्रेरणा दिन्छ । मैले महिला मन्त्रालय, महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा लगायत  सबैमा राम्रो काम गर्ने कर्मचारीको रूपमा छुट्टै छवी निर्माण गर्न सकेको छु जस्तो लाग्छ । त्यसैगरी जिल्ला समन्वय अधिकारीको रूपमा रसुवामा करिव २० महिना सेवा गरें । त्यहाँ पनि मैले पुरानो बेरुजु फछ्र्याेट, क्षमता विकास, पालिकाहरूसँग समन्वय लगायतका क्षेत्रमा धेरै काम गरें । फलतः म जिल्ला समन्वय समितिको बोर्डबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित समेत भएँ ।

पहिलो महिला वाणिज्य प्रतिनिधि 

महिला मन्त्रालय र महिला विकास विभागमा रहँदा मैले महिला विकास अधिकृतहरूको क्षमता, कामप्रतिको लगाव अनि महिला विकास कार्यक्रमको महत्व सबै नजिकबाट हेरेको थिएँ । त्यसैले मैले त्यतिबेला विभिन्न फोरमहरूमा महिला विकास अधिकृत र अन्य कर्मचारीहरूको स्थायित्व र महिला विकास कार्यक्रमको जिल्ला तहमा आवश्यकताको विषयमा बोलेकी थिएँ । वाणिज्य मन्त्रालयमा रहँदा वाणिज्य नीति २०७२ को मस्यौदा निर्माण, छलफल, प्रस्तुतिकरण, मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश लायतका सबै चरणमा उल्लेख्य योगदान गरेको थिएँ । मन्त्रालयका उच्चदेखि तल्लो तहसम्मका पदाधिकारीले मेरो कामको उच्च मूल्यांकन तथा प्रसंशा पनि गर्नु भएको थियो।

त्यसैगरी मैले संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोग जेनेभामा ३ वर्ष (२०७३ देखि २०७६) सम्म विश्व व्यापार संगठन लगायतका वाणिज्य सम्बन्धित संस्थाको लागि नेपालको तर्फबाट वाणिज्य प्रतिनिधिको रूपमा काम गर्ने अवसर पाएँ । वास्तवमा उक्त जिम्मेवारी निकै चुनौतीपूर्ण पनि थियो, दिनमा १८/२० घण्टासम्म काम गर्नुपथ्र्याे । नेपालको करिव २० वर्षको इतिहासमा वाणिज्य प्रतिनिधि भएर जाने म पहिलो महिला थिएँ । १६४ वटा देश सदस्य रहेको डब्लुटीओको मिटिङ हलमा नेपालको तर्फबाट स्टेटमेन्ट दिन पाउँदा तयारीका सबै दुःख बिर्सेर आफूलाई संसारकै एक भाग्यमानी महिला जस्तो पनि लाग्थ्यो । त्यो बेला म डब्लुटीओ को एलडीसी समूहभित्र व्यापार सहजीकरणको फोकल पर्सन पनि थिए । प्रो एक्टिभ भएर डब्लुटीओ सचिवालयको सहयोगमा नेपालमा र जेनेभामा पनि कार्यक्रमहरू व्यवस्थापन र समन्वय गरेको थिएँ । साथै सन् २०१८ मा ६ वर्षपछि नेपालको व्यापार नीतिको पुनरावलोकन तथा डब्लुटीओ को ११औ मन्त्रिस्तरीय सम्मेलन जस्ता अत्यन्तै मिहिनेत र समय खर्चिनुपर्ने महत्वपूर्ण कार्यक्रम मेरो कार्यकालमा सम्पन्न भएका थिए । त्यो बेला युएस–चाइना ट्रेड वार र डब्लुटीओ रिफर्म लगायतका विषय अत्यन्तै पेचिला थिए । त्यस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेर फर्केको थिएँ । मेरो कामको प्रशंसा जेनेभा नियोग, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय समेतबाट भएको स्मरण गर्दा अहिले पनि धेरै खुशी लाग्छ । वास्तवमा यो नै मेरो जीवनको सबैभन्दा ठूलो कमाइ हो जस्तो लाग्छ ।

चुनौती भनेको अवसर हो

निजामती सेवाको कार्य क्षेत्र बृहत् भएकाले विविध अवसरहरू रहेको छन् । सबैभन्दा ठूलो अवसर जनताको सेवा र राष्ट्रसेवा हो । अर्काे अवसर व्यक्तित्व विकासको हो । मैले कार्यक्रमका दौरान करिव डेढ दर्जन देशहरूको भ्रमण गर्ने अवसर पाएको छु ।  यसका अतिरिक्त मैले विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर विश्वका राम्रा विश्वविद्यालयमा वैदेशिक छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पनि हात पारेको छु । उदाहरणको लागि मैले नेदरल्याण्ड्स सरकारको छात्रवृत्तिमा स्नातकोत्तर एमबीए गरे । अमेरिकी सरकारको छात्रवृत्तिमा संसारकै प्रतिष्ठित हवर्ट हम्पफ्री फेलोसिपमा अमेरिकामा अध्ययन गरें । म त्यसरी नेपालको निजामती सेवामा शाखा अधिकृत पदबाट उक्त छात्रवृत्ति प्राप्त गर्ने पहिलो व्यक्ति पनि हुँ ।

मसँग पहिलेदेखि नै समस्याको समाधान छ र चुनौती भनेको अवसर हो भन्ने सोच विद्यमान थियो यसैले काम बानी बस्दै गयो । अर्काे कुरा समस्याको समाधान खोज्ने विषय व्यवस्थापकीय कौशल पनि हो । त्यस्तै मेरो कामप्रतिको लगावले पनि होला कसैले पनि त्यस्तो नराम्रो गरेको पाएको छैन । कतिपय सन्दर्भमा भने सरुवा वा पदस्थापनको विषयमा कतिपयले चाँही खुट्टा तानेको, मेरो विरुद्धमा षडयन्त्र गरेको तथा भित्रभित्रै कैंची काटेको पाएको छु । म चाहिँ उहाँहरूको सधैं जय होस्, राम्रो होस् मात्र भन्न मन पराउँछु ।

जिल्ला हाँक्ने अभिलाषा

मैले  हालसम्म काम गरेका सबै कार्यालयबाट मेरो कामको सम्बन्धमा राम्रो तथा सकारात्मक प्रतिक्रिया पाएको छु । केही सामान्य कमी कमजोरी भएमा “हजुरले यसो भन्न सुहाएन है म्याडम” भनेको पाएको छु । जसलाई मैले महत्वपूर्ण प्रतिक्रियाका रूपमा लिने गर्दछु । निजामती सेवामा रहेर देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा ठूलो योगदान गर्न सकिन्छ । त्यसमा पनि हाम्रो जस्तो अझै पनि प्राइभेट क्षेत्र धेरै विकसित नभएको कारण स्वरोजगार र रोजगारका अवसर साँघुरो भएको देशमा निजामती सेवामा प्रवेश गर्नु र तन मनले जनताको सेवा गर्नु अत्यन्तै ठूलो अवसर हो । पैसा कमाउने भन्दा सेवा गर्न पाउनुलाई अवसरको रूपमा लिनुपर्छ भन्ने लाग्छ । महिलाहरूले सकेसम्म कहिल्यै पनि घरको, परिवारको तथा बच्चाको समस्या कार्यालयमा सुनाउनु हुँदैन । घरको व्यवस्थापन घरमै दुःखसुख गरेर गर्नु पर्छ । यो व्यवस्थापकीय कला पनि हो । कार्यालयमा त पुरुष कर्मचारीभन्दा २/४ गुणा बढी काम गरेमा कसैले पनि कुरा काट्न पाउँदैनन् । मैले कहिल्यै पनि घरायसी समस्याको गन्ध कार्यालयमा आउन दिइन । अर्को कुरा समयको पालना  हो । हुन त निजामती सेवामा म आफैंले यो गरें भन्न धेरै कठिन छ । सम्पूर्ण प्रणाली कार्यात्मक र सुदृढ भएमा उद्देश्य प्राप्ति हुन्छ । तापनि हामी प्रत्येक व्यक्ति इमान्दार र लगनशील बन्न सक्दा पनि प्रणाली सुदृढ हुन पुग्छ । म सधैं नै नेतृत्व लिन र चुनौतीपूर्ण जिम्मवारी लिन चाहन्छु । गत वर्ष गृह मन्त्रालयमा आउनु पूर्व नै मैले सीडीओको तालिम समेत लिएको छु । यस सम्बन्धमा मैले गृह मन्त्रालय समक्ष जहिले र जुनसुकै जिल्लाको जिम्मेवारी दिए पनि त्यो लिन तयार छु भन्ने कुरा अनुरोध गरिसकेको हुँदा उचित समयमा मन्त्रालयले त्यस्तो निर्णय गर्नेमा आशावादी छु ।