neapl investment mega bank
  • गृहपृष्ठ
  • जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जामन्त्री भुसाल

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जामन्त्री भुसाल

Apr 6th, 2022

ललितपुर, २३ चैत /रासस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सही सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।”

जलस्रोत तथा सिँचाइ विभागलगायत जलस्रोत क्षेत्रका विभिन्न अनुसन्धान संस्थाद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले खाद्य सुरक्षा, ऊर्जा विकास तथा पारिस्थितिक प्रणालीको निरन्तरताका लागि जलस्रोतको महत्वपूर्ण भूमिका हुने विषयलाई कसैले पनि भुल्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलस्रोतको उचित व्यवस्थापन गरेर आर्थिक तथा सामाजिक विकासलाई विस्तार गर्नुपर्छ ।” पानी व्यवस्थापनमा गम्भीर चुनौती देखा पर्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बर्सातको समयमा ८० प्रतिशतभन्दा बढी पानी उपलब्ध हुन्छ, त्यसलाई सही तवरले व्यवस्थापन गर्न नसक्दा बाढीपहिराजस्ता मानवीय विपत्तिसँग जुध्न बाध्य छौँ, प्रत्येक वर्ष हाम्रो ठूलो आर्थिकस्रोत क्षति भइरहेको छ ।”

जैविक विविधता तथा जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव पर्दै गएको बताउँदै मन्त्री भुसालले खानेपानी, सिँचाइ र विद्युत् उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले हिमनदी पग्लिरहेका छन् र अतिवृष्टि, अनावृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ ।”

मन्त्री भुसालले जलस्रोतको विकास, व्यवस्थापन र उपयोगबाट खाद्य, ऊर्जा सुरक्षा, जैविक विविधता संरक्षण, आर्थिक तथा सामाजिक विकासमा पर्ने प्रभावबारे एकीकृत अध्ययन अनुसन्धान गरेर समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जलवायु अनुकूलित सिँचाइ प्रविधिको विकासले उत्पादकत्व वृद्धि भई विद्यमान कृषि व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य बुद्धबहादुर गुरुङले पानीको सही व्यवस्थापनबाट देशको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने भएकाले सही तवरले एकीकृत सदुपयोगमा लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य सालोनी प्रधान सिंहले जलस्रोतको उचित सदुपयोग गरेर आर्थिक व्यवस्थालाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।