neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले बाहेक अन्य दलले गरे निर्वाचन आचारसंहिता प्रतिवद्धतापत्रमा हस्ताक्षर

एमाले बाहेक अन्य दलले गरे निर्वाचन आचारसंहिता प्रतिवद्धतापत्रमा हस्ताक्षर

Apr 5th, 2022

आधारभूमि संवाददाता

काठमाडौं २२ चैत

आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन चाहने दलले निर्वाचन आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । तर नेकपा एमालेले भने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको छैन ।

छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको एमालेको भनाइ छ ।

एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगले बोलएको बैठकमा सहभागी भएका थिए । मंगलबार निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दलका नेताहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो ।

राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध पनि जनाएका थिए ।

छलफलका लागि पुनः बोलाउने प्रतिबद्धता जनाएपछि हस्ताक्षर गरिएको नेमकिपाका सांसद प्रेम सुवालले जानकारी दिए । आयोगले दलका गुनासो सुन्नुपर्ने उनको भनाइ छ ।

स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।