neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छापिने

स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छापिने

Apr 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौं २१ चैत

स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिने भएका छन् । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छपाईको काम सुरु गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँका हुने प्रवक्ता पौडेलले जनाकारी दिए ।

यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।

मतपत्र छाप्नका लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ । सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । ‘प्राथमिकता त तोकेका छैनौँ । तर, पहिला छाप्ने काम दुर्गमको हुन्छ । किनभने ढुवानीको हिसाबले दुर्गम जान धेरै दिन लाग्न सक्छ । पहिला दुर्गम स्थानको छाप्ने र पहिला पठाउने, अनि सुगम क्षेत्रको छाप्छौं,’ प्रवक्ता पौडेलले भने ।

मतपत्र छाप्नका लागि सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ । नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन् ।

मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन् । मतपत्र छपाईको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सीसीक्यामेराको समेत व्यवस्था गरिएको छ । मतपत्र छपाईको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ ।

स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कुल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलको वताएका छन् ।