काठमाडौं १५ चैत
आगामी स्थानीय चुनावमा नेपाली कांग्रेसले अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय
गरेको हो । प्रवक्ता डा प्रकाशशरण महतका अनुसार नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लगिन्छ ।
गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने उनले जानकारी दिए । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए ।
यसैगरी कांग्रेसले निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको हो । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति तथा प्रवत्तल.mा डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।