आधारभूमि संवाददता
काठमाडौ १३ चैत
आगामी स्थानीय चुनावमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने भएका छन्। निर्वाचन आयोगले आइतबार स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लगाएको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ८९ लाख ९२ हजार १० पुरूष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको आयोगले जनाएको छ ।
यस्तै १८३ जना अन्य छन्। चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।
आयोगका अनुसार काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ८९ हजार ५८४ मतदाता छन्।
मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन्। ६ हजार ४९६ मतदाता मनाङबाट छन्।
सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता छन्। त्यसपछि पोखरा महानगरमा २ लाख ७ हजार ७१२ र भरतपुर महानगरमा १ लाख ८५ हजार ७५२ मतदाता छन्।
सबैभन्दा थोरै मतदाता मनाङको नार्पा भूमि गाउँपालिकामा छन्। त्यहाँ ४४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। त्यसपछि ७११ मनाङकै चामे गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९६७ जना मतदाता छन्।
प्रदेश अनुसार सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। बागमतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता छन्।
प्रदेश नम्बर १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७०, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ र गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० र कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्।