आधारभूमि संवाददाता
काठमाडौँ १ चैत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । ।
अखिल नेपाल महिला संघको बैठकलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने दावी गरेका हुन् ।
साथै ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको वताए ।
उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उप मेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्मक रहेको धारणा राखे ।