आधारभूमि संवाददाता
काठमाडौँ २९ फागुन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो ।
माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाका ९८ सांसदले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उनको न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताएका छन् ।
न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।
संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लगाएको महाअभियोग प्रस्तावमा जबराका कार्य एकपछि अर्को विवादास्पद बनेको बताइएको छ ।
देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो ।