neapl investment mega bank
  • गृहपृष्ठ
  • अनेरास्ववियुको प्रश्न, ‘प्रधानमन्त्रीज्यू, दार्चुलामा भारतले तटबन्ध निर्माण गर्दा मौन किन ?’

अनेरास्ववियुको प्रश्न, ‘प्रधानमन्त्रीज्यू, दार्चुलामा भारतले तटबन्ध निर्माण गर्दा मौन किन ?’

Mar 10th, 2022

काठमाडौ, फागुन २६
दार्चुलाको महाकाली नगरपालिका–४ खलङ्गामा भारतीय पक्षले नेपाली भूमि मिचेर तटबन्ध निर्माण कार्य सुरु गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को टोलीले स्थलगत निरीक्षणमा पुगेको छ । फागुन २४ गते अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्दै भारतले तटबन्ध निर्माण थालेपछि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसहितका विद्यार्थी नेताहरू स्थलगत निरीक्षण गर्न दार्चुला पुगेका हुन् ।
अध्यक्ष बरालले नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि धावा बोल्ने प्रयास नगर्न भारतीय पक्षलाई चेतावनी दिएकी छन् । यस कदमविरुद्ध जोडदार आवाज उठाउने उनले बताइन् । ‘हामी भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्न चेतावनी दिन चाहन्छौँ । र, तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन माग गर्दछौँ,’ बरालले भनिन् ।

दार्चुलामा तटबन्ध निर्माण गरेर भारतले नेपाली भूमिमा अतिक्रमण गरेको ठहर अनेरास्ववियुले गरेको बताउँदै अध्यक्ष बरालले यस्ता गतिविधि स्वीकार्य नहुने उद्घोष गरिन् । ‘हामी जीवनको आहुति दिन तयार छौं । तर, हाम्रो मुलुकको एक चिम्टी माटो खोसिएको टुलुटुलु हेर्न सक्दैनौँ । लिम्पियाधुरा र लिपुलेक फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान सरकार दार्चुलामा तटबन्ध निर्माण कार्य हुँदै गर्दा मूकदर्शक हुन मिल्दैन,’ उनले भनिन् ।

सीमा रक्षार्थ उक्त क्षेत्रका स्थानीयले प्रतिकार गर्दा भारतीय पक्षबाट भएको दमनको भत्सर्ना गर्दे अध्यक्ष बरालले सीमाजस्तो संवेदनशील विषयमा समेत दार्चुला प्रशासनले मौनता साँध्नुले हाम्रो राज्य सीमा सुरक्षामा हदैसम्मको गैरजिम्मेवार रहेको पुष्टि हुने बताइन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्तामार्फत भूमि अतिक्रमणको विषयमा समाधान खोज्न उनले आग्रह गरेकी छिन् । ‘प्रधानमन्त्रीज्यू, लिम्पियाधुरा, लिपुलेक र कालापानी कहिले फिर्ता ल्याउनु हुन्छ ? दार्चुलामा भारतले तटबन्ध निर्माण गर्दा मौन किन ? जवाफ चाहियो,’ उनको प्रश्न छ ।