काठमाडौ, फागुन २४
छन्द : शार्दूलविक्रीडीत
रचना: जानुका सुवेदी
सानै छौ बहिनी पढी इलमले ज्ञान् को उज्यालो छरे ।
टुक्रेला सपना उमेर नपुगी सन्तान ईच्छा गरे ।।
कोलाहल् घरमा सदैव झगडा रोगी, अशक्तै हुने ।
भोको पेट् नछ बस्त्र एक गतिलो सन्तान दुव्लो रुने ।।
बेला छैन सही छ काम रसले मातेर साँढेसरी ।
फक्रेको रुप माथि आतुर बनी घुम्दोछ लट्ठै परी ।।
जोशिलो रुपवासना रहरले होसै गुमायौ भने ।
होला जोखिम आपतै पनि अझै आमा कुमारी बने ।।
आमाको ममता भरिन्छ सहजै पाल्ने कसोरी तर ।
अन्मोल् जीवन हो र एक भुलले बच्चा नफाल्ने गर ।।
मर्यादा नभुले अपार सुखको सिङ्गो खुशी मिल्दछ ।
भड्केमा पछुतो र मान गिरने, एच्आइभिले निल्दछ ।।
आधारै शिशु हो नठान गुडिया होलानि ग्लानी कडा ।
पैले योग्य बनी भएर सवला आफ्नै बुतामा खडा ।।
साथी जीवनको विवाह गरनू पक्का छ अंङ्ग जव ।
चाहेको शिशुको बुनेर सपना साझा मतिमा तव ।।
सम्पूर्णरुपले तयार तनमन् लेओस् विकास् ले गति ।
आमाले परिपक्व जीवन दिए होला सदा उन्नति ।।
स्वास्थ्य नै धन हो र सन्ततिहरू आधार हाम्रा यिनै ।
देशैको गतिलो सपूत बलियो पार्नुछ जग्देखि नै ।।