neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ को बिदाइ

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ को बिदाइ

Mar 4th, 2022

काठमाडौँ, २० फागुन /रासस

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ हुनुभएको छ । समिति सचिवालयले आजको बैठकपछि उहाँहरूलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो ।

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी हुनुहुन्छ । यसअघि बैठकमा उहाँहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गर्नुभयो ।

प्रत्यायोजित विधायन अर्थात सहायक कानून निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानून कार्यान्वयन गर्न पूर्व अनिवार्यरूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौंदालाई अन्तिमरूप दिन सफल भएको विषयलाई उहाँहरूले उपलब्धिकारूपमा लिएको बताउनुभयो ।