काठमाडौँ २० फागुन
एमसीसी सम्झौताविरुद्ध ८ राजनीतिक दलले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
८ वामपन्थी दलले खुला मञ्चमा विरोध सभा आयोजना गरेका हुन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।
विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा -क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।
विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।
त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।