neapl investment mega bank

भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य

Dec 7th, 2019

पोखरा, २१ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा सञ्चालित भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पतीले कास्य पदक प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको शुक्रबार पुरुष ६७ केजी तौल र उहाँकी धर्मपत्नी राज्यलक्ष्मीले ७१ केजी तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो ।

१०औँ संस्करणका स्वर्ण विजेता कमल १३औँमा पुरुषतर्फका सो समूहमा कास्यमा सीमित हुनुभएको छ । प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कूल १५० किलो भार उठाउँदै कास्य हात पार्नुभयो । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बङ्गलादेशले रजत पदक जित्नुभयो । भारतकी मनप्रीत कौरले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १०७ गरी कूल १९२ किलो भार बहन गरी स्वर्ण जित्नुभएको हो । बङ्गलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लिन एन्ड जर्क विधामा ८५ गरी कूल १५५ किलो बहन गर्दै रजतमा सीमित रहनुभयो ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठ्न सक्नुभएन । नेपाल प्रहरीमा आबद्ध उहाँले १२औँ संस्करणमा नेपाललाई कास्य दिलाउनुभएको थियो ।

यसपालि उहाँले १५३ किलो तौल उठाउँदै कास्य जित्नुभएको हो । उहाँले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ किलो तौल उठाउनुभयो । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो । भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लिन एन्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्षस्थानमा रहनुभयो । यस्तै, श्रीलङ्काकी भी हर्षिकाले रजत जित्नुभयो । उहाँले स्न्याचमा ७० र क्लिन एन्ड जर्कतर्फ एक सय गरी कूल १७० किलो भार बहन गर्नुभयो ।