काठमाडौ, फागुन १८
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित ’कोभिड–१९ विरुद्धको खोप सम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले १३ प्रतिशत नागरिकले खोप लगाउन नमानेको भन्ने रिपोर्ट आएको र केही पहुँच बाहिर रहेकाले जनप्रतिनिधिले पनि खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल बाँकी रहेका तथा नवनिर्वाचित सदस्यहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले भने, ’करिब १३ प्रतिशत जनसंख्या खोप लगाउन नमानिरहेको भन्ने कुरा छ । यो भ्रमका कारणले हुन सक्छ । यसमा हामीले जनतालाई सचेत गराएर खोप अभियानमा सहभागी गराउन हामी जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहन्छ ।’
राष्ट्रिय सभामा निर्वाचित भएर आएका नयाँ सदस्यहरुलाई बधाई तथा स्वागत गर्दे अध्यक्ष तिमिल्सिनाले चैत्र मसान्तसम्म सरकारले सबै जनतालाई खोप लगाउने लक्ष्य लिएको बताउँदै त्यसलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे । ’अब स्थानीय चुनाव आउँदैछ । पार्टीका कार्यक्रममा स्वास्थ्यलाई पनि प्रथामिकता दिनुपर्छ,’ उनले भने । ’राजनीतिक दलहरुले चुनावमा भोट माग्ने काम सँगै खोप लगाउन समेत जनतालाई हात जोडेर अनुरोध गर्न म अनुरोध गर्दछु ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले चैत्र मसान्तसम्म १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइ सकिने जानकारी गराउँदै कहीँ कतै खोपको पहुँच नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले कोभिडबारे धेरै कुरा जानकारी नहुँदा सुरुवातमा धेरै समस्या भोग्नुपरे पनि अहिले सहज भएको बताए । एउटा मात्रै गलत सूचना जाँदा धेरै जनामा असर पर्ने बताउँदै उहाँले सांसद तथा जनप्रतिनिधिले बोल्दा सही वा गलत छुट्याएर मात्रै बोल्न अनुरोध गरे ।
त्यसैगरी स्वास्थ्य मन्त्रलायका सचिव डा. रोशन पोखरेलले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाबारे जानकारी गराउँदै कोभिड व्यवस्थापन, नियन्त्रण र खोप लगाउनका लागि संघीय संरचनाअनुसार तीन तहको सरकारले मिलेर काम गर्दा स्वास्थ्यका कार्यक्रम जनतामा पुर्याकउन सहज भएको बताए । स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. संगीता मिश्राले हालसम्म ३ करोड ७२ लाखभन्दा बढी डोज खोप ७४ प्रतिशतलाई पहिलो मात्रा र ६० दशमलव एक प्रतिशतलाई दोस्रो डोज लगाइसकिएको जानकारी दिईन । सरकारले जनतालाई कोभिडबारे सचेत गराउन, महामारी नियन्त्रण तथा कोभिडबिरुद्धको खोप लगाउनका लागि जनतालाई आग्रह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने मिश्राले बताईन ।
कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख राजेश संभाजीराव पाण्डवले कोभिडका कारण हामीले आफ्नो परिवारको महत्व र हेरचाहमा समय दिएको बताए । जनता सामु जनस्वास्थ्य सम्बन्धी सुरक्षाका सन्देशहरु सञ्चार गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भने, ’जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व विश्वव्यापी रुपमा बोध गरिएको छ । त्यसका लागि हामी सबै मिलेर काम गरौं । अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, स्वास्थ्य मन्त्री खतिवडा, राष्ट्रिय सभा सदस्यहरु, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.पाण्डव, राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम उद्घाटन सत्र पश्चात कोभिड–१९ रोकथाम र खोप सम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरुको स्वास्थ्य सम्बन्धी प्रस्तुति रहेको थियो ।