neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्,’- नेपाल

‘दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्,’- नेपाल

Mar 1st, 2022

काठमाडौँ १७ फागुन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताउनुभएको छ ।

एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसिसीको पक्षमा उभिएको बताउनुभएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसिसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताउनुभयो ।

“एमसिसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो”, उहाँले भन्नुभयो।

अध्यक्ष नेपालले एमसिसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताउनुभयो ।

व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उहाँले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गर्नुभयो।

नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । “सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ”, उहाँले भन्न्ुभयो ।

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उहाँले आफूहरुलाई निमिट्यान्न पार्ने षडयन्त्र चकनाचुर भएको बताउनुभयो ।

“पछिल्ला दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो”, अध्यक्ष नेपालले भन्नुभयो , “ तर ती षडयन्त्र सफल हुन सकेन ।”