काठमाडौ, फागुन १६
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सोमबार एकैदिन राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठकमा सहभागी भएकाछन । अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको नियमित बैठकमा सहभागी भएका हुन ।
सोमबारको बैठकमा दिगो विकास समितिले देशमा क्रियाशिल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरु एकद्वार प्रणालीअनुसार नियमन÷सहजीकरण तथा अनुगमन र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको योगदान बारे छलफलको विषय रहेको थियो । त्यसैगरी राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजना अध्ययन तथा अनुगमन उपसमितिहरुको कामकारबाही बारे समितिले गरेको अध्ययन र अनुगमनबारे प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो ।
सोही नियमित बैठकहरुमा सहभागी हुँदै अध्यक्ष तिमिल्सिनाले संसद बैठकमा भन्दा समितिको बैठकमा कुनै पनि विषयमा व्यापक र बिस्तृत छलफल हुने भएकाले सक्रिय सहभागीतका लागि सदस्यहरूलाई अनुरोध गर्नभयो । दिगो विकास समितिको बैठकमा बोल्दै उनले भने, ’संसद बैठकमा धेरै दिनपछि बस्दा र थोरै समय बस्ने बस्ने हुँदा सांसदहरुले काम नै गर्दैनन् कि भन्ने जनतामा परेको हुनसक्छ । संसदमा बोल्ने समय पनि कम हुन्छ त्यसैले समितिमा हुने छलफलहरुमा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्छु ।’
कोरोना महामारी र विभिन्न राजनीतिक गतिरोधका कारण संसद बैठक नियमित बस्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले समिति बैठकमार्फत संसद जीवित छ र काम गरिरहेको छ भन्ने देखाउनुपर्ने बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी उपस्थित बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पारदर्शी ढंगले काम गर्नुपर्ने लक्षित समुदायमा कार्यक्रम पुगेको नपुगेको मन्त्रालयले अनुगमन गर्नुपर्ने बताए ।
त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाको कार्य अवस्थाबारे छलफल भएको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले समयमा चल्ने र योजनाअनुसार काम हुने बानीको विकास भए देशले छिट्टै प्रगति गर्ने धारणा राखे । समितिले अनुगमनमा जाँदा समय दिएर बिस्तृतमा अध्ययन गरी योजनाअनुसार काम नभएको वा बदमासी भएमा कारबाहीको सिफारिस गर्ने र राम्रो काम गर्नेलाई पुरस्कारको सिफारिस गर्ने परम्परा बसाल्नुपर्ने बताए ।
बैठकमा देशभर चालू २३ वटा राष्ट्रिय गौरबका आयोजनाको कार्यप्रगति र समस्या बारे अध्ययन गर्न बनेका तीनवटा उपसमितिको प्रतिवेदन पेश र त्यसबारे छलफल भएको थियो । अध्यक्ष तिमिल्सिना यसअघि विधायन व्यवस्थापन समितिको बैठकमा सहभागि भएका थिए भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समेत छिट्टै सहभागी हुनेछन ।