आधारभूमि संवाददाता
काठमाडौँ १५ फागुन
एमसीसी संझौता सहमतीको नजिक पुगेको छ । आइतबारको संसद् बैठकले एमसीसीलाई छलफलमा लैजादै छ, । आइतबार दिउँसो १ बजे बस्ने बैठकले एमसीसी छलफलमा लैजान लागेको हो ।
सो अघि नै प्रमुख दलहरुबीच भएको छलफल सकारात्मक बन्दै गएको छ । यसै विषयमा छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा सरकारले संसदमा पेश गरेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ बारे छलफल गरी निष्कर्ष दिने वताइएको छ।
आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ। बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची छ।
सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीलाई ब्याख्यात्मक व्यवस्थासहित पारित गर्ने निर्णय गरेका हुन् । शनिबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आ आफ्नो धारणाको सम्मान गर्दै सहमतिमै पारित गर्ने तयारी गरेका हुन् ।
यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्।
‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीभित्र व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने विषयमा छलफल अगाडि बढाइरहेका छन्।
एमसीसी पारित गर्ने विषयमा माओवादीले आफ्नो अडान फेरेको छ भने समाजवादीले समेत आवश्यकतालाई सम्बोधन गर्ने भन्दै एमसीसी पारित गर्न सहयोग गर्ने जनाएको छ ।
माओवादी केन्द्र र समाजवादीले पार्टीबाटै निर्णय गराएर एमसीसीलाई छलफलमा लैजाने र पारित गर्न कांग्रेसलाई सघाउने निर्णय गरेसंगै एमसीसी पारित हुने संभावना बढेको हो ।