काठमाडौ, फागुन १०
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जाबिस्तार दुबैमा उच्च बृद्घि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरु मध्ये निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा बृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१ दसमलव २६ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार २८ दसमलव ५१ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरु मध्ये १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर १० दमसलव ३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको देखिन्छ ।
नेपालभर नेपाल बैकले दुई सय १३ शाखाहरु, एक सय ४७ वटा एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङसेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोडदिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।