आधारभूमि संवाददाता
काठमाडौं ४ फागुन
आज संसदमा पेश हुन लागेको अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सम्वन्धमा दलहरु आफ्नो धारणा बनाउन तल्लिन छन् ।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट एमसीसी टेबुल हुने निश्चित भएपछि सत्ता गठबन्धन र प्रतिपक्षी दल आआफ्नो रणनीति तय गर्न छलफलमा व्यस्त भएका हुन् ।
एमसीसीका बारेमा कुन दलको के छ धारणा ?
लामो बहसपछि अनुमोदनका लागि पेश हुन लागेको एमसीसीले सडक देखि संसद सम्म तताएको छ ।
सत्त्तारुढ दलमध्ये नेपाली काँग्रेस एमसीसीको समर्थनमा खरो उत्रिएको छ भने माओवादी विपक्षमा उभिएको छ ।
नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । दिउँसो साढे ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकमा एमसीसीलाई संसद बैठकको कार्यसूची बनाउने विषयमा छलफल हुँदैछ ।
यता सभामुख अग्निप्रसाद सापकोटाले समेत दलहरुले निर्णय गरेर ल्याए एमसीसी नरोक्ने प्रतिवद्धता जनाइसकेका छन् ।
सत्तारुढ दल नेकपा -माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।
प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।
सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ ।